इटहरी/ नेपालमा मात्र हैन विदेशमा समेत दर्शकको उल्लेख्य साथ पाइरहेको अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनको तेस्रो हप्तामा छ । पहिलो हप्तामै ५ करोड ५४ लाख ग्रस कलेक्सन गरेको यस फिल्मले दोस्रो हप्तामा २ करोड ९८ लाख थप्दै १४ दिनमा कुल कमाइ ८ करोड ५२ लाख पुर्याएको निर्माण टिमको दाबी छ । ढुंगानाले फेसबुकमार्फत् सार्वजनिक गरेको कलेक्सन रिपोर्टअनुसार, फिल्मले नेपालगञ्ज र दाङजस्ता क्षेत्रहरूमा तुलनात्मक रूपमा उच्च व्यापार गरिरहेको छ ।
हाल देशभर करिब ५० शो चलिरहेको यो फिल्मले अष्ट्रेलिया, न्युजिल्याण्ड, जापान, दक्षिण कोरिया र मध्यपूर्वका देशहरूमा पनि राम्रो प्रदर्शन गरिरहेको छ । विदेश वितरक सेभेन सिज इन्टरटेनमेन्टका अनुसार ‘ह्रस्व दीर्घ’ अब चाँडै अमेरिका, क्यानडा र युरोपका विभिन्न देशहरूमा प्रदर्शन हुने तयारीमा छ ।

नीता फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्ममा हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, रवीन्द्र झा, बुद्धि तामाङ, र किरण केसीलगायतका कलाकारको अभिनय छ । हरिहर अधिकारीको कथा र प्रतीक पौडेलको पटकथा तथा संवादमा बनेको फिल्मको छायांकन बलिउड सिनेमाटोग्राफर कवीरलालले गरेका हुन् । चन्द्र पन्तको निर्देशनमा बनेको यो फिल्म पन्तको नेपाली फिल्म निर्देशनको पहिलो प्रयास हो । यो फिल्मको तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुने तयारी भइरहेको छ ।















Discussion about this post