इटहरी/ आगामी वर्ष सन् २०२५ मा प्रदर्शनको लक्ष्य राखेको नेपाली फिल्म ‘डोरी’को बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा शुभ मुहूर्त गरिएको छ । क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको यो फिल्म आइतबारदेखि छायाङ्कनमा जानेछ । सामाजिक यथार्थ, रहस्य र सस्पेन्सको मिश्रण बोकेको ‘डोरी’ले नेपाली सिने जगतमा नयाँ कथा र शैली प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
मुहूर्त कार्यक्रममा अभिनेता प्रवीण खतिवडा, अभिनेत्री अञ्जना बराइली, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई र नूतनलगायतका कलाकार तथा टिमका मुख्य सदस्यहरूको उपस्थिति रहेको थियो । निर्देशक अरुण लामा, कार्यकारी निर्माता राज थापा, छायाकार सौरभ लामा र सङ्गीतकार राजनराज सिवाकोटी पनि कार्यक्रममा सहभागी भएका थिए ।

निर्देशक अरुण लामाका अनुसार, ‘डोरी’को कथा सम्बन्ध, जिम्मेवारी, समस्या र मायाका धागाहरूसँग बाँधिएका पात्रहरूको जीवनमा आधारित छ । अंग्रेजी शीर्षक ‘DORII’ को फुलफर्म ‘Discovery Of Realism In Inquisitiveness’ रहेको र यसले सामाजिक यथार्थको खोजलाई प्रस्तुत गर्ने उनले बताए । ‘चलचित्रले दर्शकलाई आत्मसात् गराउँदै पात्रहरूसँग जोडिन प्रेरित गर्नेछ,’ लामाले भने ।
यस्तै फिल्मकी प्रमुख अभिनेत्री अञ्जना बराइलीले नयाँ टिमसँगको सहकार्यलाई विशेष अनुभवका रूपमा लिएको बताइन् । ‘यो फिल्मले नयाँ अनुभूति दिनेछ भन्नेमा म विश्वस्त छु,’ उनले भनिन् । अभिनेता प्रवीण खतिवडाले ‘डोरी’लाई सामाजिक यथार्थ, रहस्य र सस्पेन्सको रोचक मिश्रणका रूपमा परिभाषित गरे । फिल्मको लेखन तथा निर्देशक अरुण लामाले गरेका हुन् भने मनोज पण्डितले स्क्रिप्ट डक्टरिङ गरेका छन् । निर्माण पक्षमा दिनेश भट्टराई र राज थापा रहेका छन् । फिल्म छायाङ्कन सौरभ लामाले गर्नेछन् भने सङ्गीत राजनराज सिवाकोटीको रहनेछ ।














Discussion about this post