इटहरी/ केही महिनाअघि सुरुभएको रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसनमा हालसम्म ५०० भन्दा बढीले आफ्नो अभिनय क्षमता देखाउँदै भिडियो पठाइसकेका छन् । शोको निर्माण कम्पनी महक मिडिया नेटवर्कका अनुसार डिजिटल अडिसनमार्फत छानिएका प्रतिभाहरुलाई उनीहरूको गाउँठाउँमै पुगेर सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ ।
यस रियालिटी शोमा बालकलाकारदेखि वृद्धसम्मले उत्साहजनक सहभागिता देखाइरहेका छन् । डिजिटल अडिसन पश्चात् २४ जना प्रतियोगीलाई फिजिकल अडिसनबाट छानेर मुख्य प्रतियोगिता सुरु गरिने आयोजकको भनाई छ । इच्छुकले आफ्नो दुई मिनेटसम्मको अभिनय भिडियो मङ्सिर ३० गतेभित्र इमेल, ह्वाट्सएप वा भाइबर नम्बर ९७६७९८३३१० मा पठाउन सक्नेछन् ।
कार्यक्रमको निर्देशन विशाल भण्डारीले गर्नेछन् भने शोका निर्णायक तथा प्रसारण च्यानल चाँडै सार्वजनिक गरिने जनाइएको छ । डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको यस रियालिटी शोको विजेताले नगद पुरस्कारसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन् ।
‘एक्टिङ स्टार’ लाई गायन, नृत्य र कमेडी रियालिटी शोहरूले पाएको दर्शकको मन जित्ने सफलता पछिको अर्को मनोरञ्जनात्मक कार्यक्रमका रूपमा हेरिएको छ । अभिनय क्षेत्रका उदीयमान प्रतिभा खोज्ने उद्देश्यले कार्यक्रम ल्याइएको निर्माण पक्षले जनाएको छ ।














Discussion about this post