इटहरी/ नेपाल र भारतमा एकसाथ पुस ५ गते प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता सौगात मल्लको प्रमुख भूमिका रहेको यो फिल्मले दार्जिलिङ र डुअर्स क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक संघर्षको कथा उजागर गर्दछ । टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ । शिक्षित समाज आफैँमा स्वर बनेर आफ्नो भविष्यका लागि उभिन सक्छ,’ भन्ने गहिरो सामाजिक सन्देश दिन खोजेको देखिन्छ ।
१९८० को दशकमा आधारित यो फिल्ममा नेपाली समुदायले झेल्नुपरेको चुनौतीहरूलाई पर्दामा उतार्ने प्रयास गरेको छ । निर्देशक जोन राईका अनुसार चलचित्र केवल मनोरञ्जनका लागि नभई नेपालीहरूको इतिहासलाई डिजिटल दस्तावेजका रूपमा संरक्षित गर्ने उद्देश्यले निर्माण गरिएको हो । फिल्ममा सौगात मल्लको साथमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, शान्तिला तामाङ, रिया भुजेल लगायतका कलाकारहरूको सशक्त अभिनयले फिल्मलाई थप प्रभावशाली बनाएको छ । हेर्नुस् टिजर ।
बिस्ट ब्रदर्स फिल्म्सको ब्यानरमा निर्मित यो फिल्मका निर्माता सञ्जीव सार्की हुन् । फिल्मका कथा तथा पटकथा जोन राई र रुपेश तामाङले लेखेका हुन् । सुजोय कुमार घोषले छायाङ्कन गरेको यस फिल्मको सम्पादन ज्ञान गुरुङले गरेका छन् भने सङ्गीत दीपङ्कर सिंह मुखियाको रहेको छ । फिल्मका निर्माताले दर्शकहरूलाई सस्पेन्स, थ्रिल, रोमान्स र सामाजिक ड्रामाको अद्वितीय अनुभव दिने विश्वास गरेका छन् । फिल्मको पोस्ट प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा सम्पन्न गरिएको छ ।














Discussion about this post