इटहरी/ नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । विपिन कार्की र मिरुना मगर शीर्ष भूमिकामा रहेको यस चलचित्रको पोस्टरमा विपिन डोको र डायरी बोकेको दृश्यमा देखिन्छन् भने मिरुना मन्द मुस्कानसहित गुरुङ पहिरनमा सजिएका छन् । पोस्टरमा चलचित्रको शीर्षक ऊनको धागोले बुनिएको शैलीमा प्रस्तुत गरिएको छ । पोस्टर सार्वजनिकसँगै चलचित्र २०८२ साल वैशाख २६ गते प्रदर्शन हुने घोषणा गरिएको छ ।
विपिन र मिरुनाका साथ यसमा सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, परीक्षा लिम्बु, भावना खपाङ्गी मगर लगायतका कलाकारहरूको समेत अभिनय छ । निर्देशक नवीन चौहानले निर्देशन गरेको यो चलचित्र आर्टमाण्डू प्रा.लि.को पहिलो फिचर फिल्म हो । यसअघि थुप्रै म्युजिकल फिल्म बनाएर ख्याति कमाएको आर्टमाण्डूले यस चलचित्रलाई फरक शैलीमा प्रस्तुत गरेको छ । पाँचथर र फालेलुङ क्षेत्रमा छायाङ्कन गरिएको यो फिल्मका कथा निर्देशक चौहान स्वयंले लेखेका हुन् भने सुरज कटुवालले लेखनमा साथ दिएका छन् ।

चलचित्रको यसअघि सार्वजनिक ओएसटी गीत ‘फूल’ युट्युबमा १ करोड ४० लाखभन्दा बढी पटक हेरिएको छ । यो गीत छायाङ्कनअघि लिरिकल शैलीमा सार्वजनिक गरिएको थियो । फिल्ममा संगीत निर्देशक सुजन चापागाईंको रहेको छ भने झुमा लिम्बु, सुजन चापागाईं, सुनिता थेगीम, र सलिना बि.क.को स्वर समावेश छ । चलचित्रको छायाङ्कन चिन्तन राजभण्डारीले गरेका छन् भने सम्पादन कृष्ण भण्डारीको रहेको छ । विशाल न्यौपानेको टिमले कला निर्देशन सम्हालेको छ । पोस्टर र प्रचार सामग्री रोयल भीमसेनले तयार गरेका हुन् । ‘ऊनको स्वीटर’लाई काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछन् । कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री रहेका छन् ।














Discussion about this post