इटहरी/ नेपाली साहित्यको चर्चित कथा ‘परालको आगो’ अब फिल्मको रुपमा देख्न पाइने भएको छ । गुरुप्रसाद मैनालीद्वारा रचित यो अमर कृतिमा आधारित फिल्म बनाउन मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्सलाई अनुमति दिएको छ । ‘परालको आगो’ मैनालीको ‘नासो’ कथा संग्रहको महत्त्वपूर्ण अंश हो, जसले नेपाली समाजको विविध पक्षलाई उजागर गर्छ ।
कथाकार मैनालीका छोरा माधवप्रसादले निर्माता सुशील पोखरेललाई ‘कथाको मौलिकता कायम राख्ने’ शर्तमा निर्माण अनुमति दिएका छन् । फिल्मको प्रदर्शन आगामी २०८२ सालको दशैंमा गर्ने योजना रहेको छ । यसअघि पनि, ४५ वर्ष अघि निर्देशक प्रताप सुब्बाले यसै कथामा फिल्म बनाएका थिए ।
निर्माता पोखरेलले यो फिल्मलाई नयाँ प्रस्तुतीकरण र फरक दृष्टिकोणमा बनाउने उद्देश्य राखेका छन् । फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्नेछन् र छायांकनको काम फागुनबाट सुरु हुने बताईएको छ । लेखनमा सुशील देबकोटा, गीतमा सुरेन्द्र राना, संगीतमा सत्यस्वरुप, कोरियोग्राफीमा रामजी लामिछाने र प्रोडक्सन हेडको रूपमा नरेन्द्र घिमिरे रहनेछन् ।
कलाकार छनोटको कार्य हाल अन्तिम चरणमा रहेको निर्माण पक्षले जानकारी गराएको छ। फिल्ममा ‘परालको आगो’का दुई प्रमुख पात्र चामे र गौँथलीको जीवन संघर्षलाई जीवन्त ढंगले प्रस्तुत गरिनेछ । यसअघि पोखरेलले ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’, र ‘यात्रा’ जस्ता सफल फिल्महरु निर्माण गरिसकेका छन् ।
Discussion about this post