इटहरी/ हास्य अभिनेता जितु नेपाल अभिनीत फिल्म ‘कार्साङ’को क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले आज एक पोस्टर सामाजिक संजालमा सार्वजनिक गरेको हो । सार्वजनिक लुक्समा जितुले गाउँले पात्रको रूप धारणा गरेका छन् । जसले उनको भूमिकामा थप रोचकता ल्याएको छ । यद्यपि उनले फिल्मको छायांकनको बेला अन्य कलाकारहरूसँग सेटमा खिचेको फोटोसँग यो क्यारेक्टर लुक्सको कुनै मेल खाएको छैन ।
उनको सार्वजनिक क्यारेक्टर लुक्समा कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट, गमबुट देखिन्छ । जसले गाउँको परिवेश र उनको चरित्रलाई दर्शाउँछ । उनले हातमा कचौरो पनि लिएका छन् र त्यसमा जाँड हुन सक्ने अनुमान गर्न सकिन्छ । पृष्ठभूमिमा देखिएका घर, पहाड र कुहिरोले उनी लेकाली गाउँका स्थानीय बासिन्दा हुन् भन्ने झल्काउँछ ।
यस्तै पोस्टरमा ‘मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा’ भन्ने स्टेटमेन्ट छ, जसले उनलाई घट्टामा मकै पिस्न जाने ग्रामीण परिवेशको व्यक्ति र सम्भवत: कसैको प्रेममा परेका पात्रको रूपमा प्रस्तुत गर्छ । यसबारे निर्माणपक्षले थप जानकारी भने दिएको छैन । यसअघि यो फिल्मको दयाहाङ राईको क्यारेक्टर लुक्स सार्वजनिक गर्दै फिल्म ‘कार्साङ’ले प्रचार प्रारम्भ गरिसकेको छ । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको यस फिल्म पुस २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
शेर्पा समुदायको संस्कृतिमा आधारित फिल्ममा दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितको अभिनय रहेको छ । यो फिल्म यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मका छायांकार तथा निर्माता स्वयं पुरुषोत्तम प्रधान हुन् । सह-निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा र लाइन प्रोड्युसर वीरेन्द्र शाही रहेका छन् । ‘कार्साङ’को अन्तर्राष्ट्रिय वितरण अधिकार हुल्या इभेन्टसको तर्फबाट सुमन पराजुली र सोमलाल थोकरले लिएका छन् भने नेपालभित्रको वितरण आरआर फिल्म्सले गर्नेछ ।
Discussion about this post