इटहरी/ एञ्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित नेपाली फिल्म ‘अञ्जिला’को आधिकारिक पोस्टर सार्वजनिक गर्दै यसको वर्ल्ड प्रिमियर मिति घोषणा गरिएको छ । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन र नम्बर एक गोलरक्षक रहेकी एञ्जिलाको कथा प्रस्तुत गर्ने यो फिल्मको प्रिमियर आगामी मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा आयोजना हुनेछ । प्रिमियरमा एञ्जिला र निर्देशक मिलन चाम्सको उपस्थिति रहनेछ ।
हङकङमा वर्ल्ड प्रिमियरपछि फिल्मलाई नेपाल रिलिजभन्दा अघि युके, अमेरिका, अस्ट्रेलिया र जापानमा समेत प्रदर्शन गरिने छ । निर्माता प्रेम कुमार श्रेष्ठका अनुसार नेपालमा भने यो फिल्म फागुन २९ गते रिलिज गरिने छ । फिल्ममा एञ्जिलाले आफैं मुख्य भूमिका निभाएकी छिन् । उनीसंगै फिल्ममा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
यसमा निर्माता प्रेम कुमार श्रेष्ठले समेत प्रमुख भूमिकामा अभिनय गरेका छन् । फिल्मको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको हो । निर्देशक मिलन चाम्सले यो फिल्मले दर्शकलाई फरक अनुभूति दिने बताए ।
उनका अनुसार यो फिल्मले एञ्जिलाको बाल्यकालदेखि फुटबल करियरसम्मको यात्रा, संघर्ष र सफलताको कथा प्रस्तुत गर्दै इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने उद्देश्य राखेको छ । सुदीप बरालले छायाङ्कन गरेको यस फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको यस फिल्मका सह-निर्मातामा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया रहेका छन् । निर्माण नियन्त्रकको भूमिकामा विनोद सुवेदी खत्री रहेका छन् ।
Discussion about this post