इटहरी/ कोशी प्रदेशका लिम्बू समुदायगत चलचित्रकर्मीहरुलाई समेटेर स्थापना भएको याक्थुङ चलचित्रकर्मी संघ, नेपाल केन्द्रिय समितीले आगामी मंसिर १८ गते सुनसरीको धरानमा ‘याक्थुङ सिने अवार्ड २०८१’ आयोजना गर्ने घोषणा गरेको छ । नेपाली चलचित्र क्षेत्रलाई सम्मान र प्रोत्साहन दिने उद्देश्यले विभिन्न विधामा पुरस्कार प्रदान गरिने यस अवार्डमा फिचर फिल्म र लघु चलचित्र दुवै विधामा उत्कृष्ट फिल्म तथा कलाकारलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
आफ्नो शाखा संजाल समेत कोशी प्रदेशमा विस्तार गरिरहेको यो संस्था पछिल्लो समय कोशी प्रदेशमा लिम्बू चलचित्रकर्मी माझ मात्रै हैन अन्य समुदायका चलचित्रकर्मीहरुका लागी समेत उदाहरणीय बन्दै गैरहेको छ । सोमबार संस्थाले घोषणा गरेको ‘याक्थुङ चलचित्र अवार्ड’को फिचर फिल्म विधा अन्तर्गत ‘उत्कृष्ट चलचित्र’, ‘उत्कृष्ट निर्देशक’, ‘उत्कृष्ट अभिनेता’, ‘उत्कृष्ट अभिनेत्री’, ‘चरित्र अभिनेता’, ‘चरित्र अभिनेत्री’ र ‘पब्लिक च्वाइस चलचित्र’ गरी कुल सात विधामा पुरस्कार प्रदान गरिनेछ ।
यस्तै अवार्डको लघु चलचित्र विधा अन्तर्गत ‘उत्कृष्ट लघु चलचित्र’, ‘उत्कृष्ट निर्देशक’, ‘उत्कृष्ट अभिनेता’, ‘उत्कृष्ट अभिनेत्री’ र ‘पब्लिक च्वाइस लघु चलचित्र’ अवार्ड गरी पाँच विधामा पुरस्कारको व्यवस्था गरिएको छ । अवार्डमा सहभागिताको लागी चलचित्रकर्मीलाई आव्हान पनि गरिएको छ । उक्त अवार्डमा सहभागी हुन चाहने स्रष्टा तथा कलाकारले २०८१ मंसिर ५ गतेसम्म फाराम र चलचित्र बुझाउनु पर्ने आयोजकले जनाएको छ । यो अवार्डमा २०७९ / ८० र ८१ सालमा बनेका फिल्महरुलाई मात्रै सहभागी गराईने संस्थाका केन्द्रिय अध्यक्ष नवीन मेन्याङ्बोले जानकारी गराए ।
फिचर फिल्मका लागि रु. १,००० र लघु चलचित्रका लागि रु. ५०० दर्ता शुल्क निर्धारण गरिएको छ । सहभागी हुन चाहने फिचर फिल्मको हकमा नेपाल चलचित्र विकास बोर्डमा दर्ता र सेन्सर पास भएको सर्टिफिकेट समेत उपलब्ध गराउनुपर्ने छ । यो अवार्डमा याक्थुङ लिम्बु सांस्कृतिक एवं भावनात्मक सम्पदामा आधारित तथा भाषिक चलचित्रहरुलाई मात्रै सहभागी गराईने मापदण्ड तय गरिएको छ । यस्तै पुरस्कारका लागि छनोट भएका चलचित्रलाई निर्णायक मण्डलले मूल्यांकन गर्नेछ र सोही निर्णय नै अन्तिम निर्णयको रुपमा रहने छ । फिल्महरु आयोजकले तय गरेको निति नियम अनुरुप दर्ता प्रक्रियामा लगिनेछ भने कुनै पनि विवाद उत्पन्न भएमा आयोजकको निर्णय नै अन्तिम मानिनेछ ।
Discussion about this post