इटहरी/ स्वस्तिमा खड्का र निस्चल बस्नेत अभिनीत तथा निर्मित फिल्म ‘बेहुली फ्रम मेघौली’ ओटिटी प्लेटफर्म ‘एमएसएम भिडियो’ एपमा सार्वजनिक भएको छ । सार्वजनिक भएलगत्तै यो फिल्मको क्रेज उल्लेखनीय रूपमा बढेको छ । जसका कारण दुई दिनमा नै ४४ लाख रुपैयाँको हाराहारी व्यापार गर्न सफल भएको देखिन्छ । फिल्मले सिनेमा हलमा पर्याप्त शो नपाएपछि ओटिटी प्लेटफर्ममा रिलिज गर्ने निर्णय गरिएको थियो । ओटिटीमा रिलिज भएसँगै ‘बेहुली फ्रम मेघौली’को लोकप्रियता बढ्दै गएको हो । स्वस्तिमा खड्काको अनुसार ४८ घण्टामा ११ हजार जनाले फिल्म हेरेका छन् ।
अब यसलाई ४०० रूपैयाँको दरमा गणना गर्दा २ दिनको अवधिमा ओटिटीमा ४४ लाख रुपैयाँ बराबर व्यापार भएको अनुमान लगाउन सकिन्छ । स्मरण रहोस् यो एपमा बेहुली फ्रम मेघौली फिल्म हेर्ने शुल्क देश अनुसार फरक फरक रहेको छ । यो एपमा बेहुली फ्रम मेघौली फिल्म आउने भनेर प्रचारसँगै ‘एमएसएम भिडियो’ एपको डाउनलोड संख्या पनि उल्लेखनीय रूपमा बढेको छ । सुरुवाती चर्चा चल्दैगर्दा १० हजारभन्दा बढी रहेको डाउनलोड संख्या अहिले ५० हजार नाघिसकेको छ ।
यो तथ्याङ्कले नेपाली ओटिटी प्लेटफर्ममा ‘बेहुली फ्रम मेघौली’को क्रेजलाई झल्काउँछ भने नेपाली फिल्म हेर्ने दर्शकले नेपाली फिल्म हेर्ने ओटिटि प्लेटफर्मलाई अब हलको बिकल्पको रुपमा रोज्न थालेको बुझ्न सकिन्छ । यो फिल्मलाई एकै शुल्कमा २४ घण्टाभित्र तीनपटकसम्म हेर्न सकिने सुविधा रहेको बताईएको छ भने यो अवधिमा ३ ओटा डिभाईस अर्थात ३ ओटा मोबाईलमा हेर्न सकिनेछ । तर, हाल भने एपमा ‘बेहुली फ्रम मेघौली’ नदेखिने समस्या आएको छ ।
एपको फेसबुक पेजमा म्यासेज पठाएर यो समस्या समाधान गर्न सकिने व्यवस्था गरिएको छ । तथापि, दर्शकहरूले ओटिटीमा शुल्क महङ्गो भएको गुनासो गरिरहेका छन् । दर्शकका अनुसार हलको तुलनामा ओटिटीमा शुल्क सस्तो हुनुपर्छ । यस विषयमा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन् । सजन काफ्ले र आकाश बरालले संयुक्त लेखन तथा निर्देशन गरेको यो फिल्ममा शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माता रहेका छन् ।
Discussion about this post