इटहरी/ नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ अत्यधिक मागका कारण फेरि अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आउने भएको छ । यस फिल्मको प्रदर्शन टेक्ससमा ३० भन्दा बढी शो टाइमहरूसहित शुक्रवारबाट सुरु भइसकेको छ, जहाँ दर्शकहरूको उल्लेखनीय चाप देखिएको छ । अमेरिकाको लागि वितरक रबिन कार्की ‘रायन रेज’ले फिल्म अब कोलोराडो, न्यूह्याम्सायर, बाल्टिमोर, भर्जिनिया, बोस्टन लगायत २० भन्दा बढी राज्यहरूमा प्रदर्शन हुने जानकारी दिएका छन् ।
यसअघि अक्टोबर ३ मा नेपालसँगै क्यालिफोर्नियाका विभिन्न हलहरूमा रिलिज भएको यो फिल्म अहिले त्यहाँ पनि पुनः प्रदर्शन हुने तयारीमा छ । नेपाल र अमेरिकामा दर्शकहरूले यस फिल्मलाई अत्यन्त सकारात्मक प्रतिक्रिया दिएका छन् । अमेरिकामा यसको प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एन्ड कम्पनीले संयुक्त रूपमा खरिद गरेका छन् ।
सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा निश्चल खड्का, स्वस्तिमा खड्का, वसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, र रामबाबु रेग्मीले अभिनय गरेका छन् । नेपालमा भने रिलिज भएको केही सातामै दर्शकको चाप रहेपनी हलले शो घटाएपछी निर्माण युनिटले फिल्मलाई हलबाट उतारेको थियो । त्यसपस्चात लगत्तै ओटिटी प्लेटफर्म एमएसएम भिडियोबाट सार्वजनिक गरिएको छ । सो एपबाट तोकिएको शुल्क तिरेर घरमै बेहुली फ्रम मेघौली हेर्न सकिन्छ ।















Discussion about this post