इटहरी/ फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ । नेपालमा प्रायः हरर र कमेडी विषयमा अलग-अलग फिल्म निर्माण गरिए पनि यो फिल्मले दुवै जनरालाई एकसाथ समेट्ने प्रयास गरेको छ । छठ पर्वको अवसरमा कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने तयारी रहेको यस फिल्मले दर्शकलाई हँसाउने र तर्साउने दुवै अनुभव दिनेछ । २ मिनेट ४२ सेकेण्ड लामो ट्रेलरले गाउँमा बसेका चार युवकहरूको जीवनमा अचानक एक युवतीको आगमनपछि उत्पन्न परिप्रेक्ष्यलाई हास्यप्रद शैलीमा प्रस्तुत गरेको छ ।
ट्रेलरको अन्त्यतिर युवतीलाई भूतको रूपमा देखाइएको छ, जुन दर्शकलाई चित्त बुझ्दो अनुभव दिलाउने छ । ‘आज साइकल, भोलि फरारी’ ट्यागलाइन सहित ट्रेलरले नयाँ स्वादको संकेत दिएको छ । ‘जुलेबी’ फेम नविन भट्टको निर्देशनमा बनेको यस फिल्ममा सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली फिल्ममा डेब्यु गरेका छन् । यसमा रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू र पुष्प अवस्थी जस्ता कलाकारहरूको पनि अभिनय देख्न सकिन्छ । हेर्नुस् ट्रेलर ।
फिल्मका निर्माता मनोज कुमार अधिकारी १५ वर्षपछि यहि फिल्मबाट निर्माणमा फर्किएका हुन् । जसले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ जस्ता फिल्महरू निर्माण गरेका थिए । फिल्मको स्क्रिप्ट नविन भट्ट र सन्दीप श्रेष्ठले तयार गरेका छन् । यो फिल्मको सह-निर्माता नितिश पुनका साथ, फिल्ममा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत र अनन्त घिमिरेको सम्पादन रहेको छ । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको ‘फिरफिरे फिरिरी’को वितरण देशभर आरआर फिल्म्सले गर्नेछ ।















Discussion about this post