इटहरी/ यहि कार्तिकको ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘ह्रस्व दीर्घ’को विदेश राईट्स बिक्री भएको छ । निर्माण टोलीले शुक्रबार सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट्समा सम्झौता गरेको हो । अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको यो फिल्म नेपालमा नेपाली र हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ । निर्मात्री ढुंगानाको अनुसार नेपाल भन्दा बाहिर भने मंसिर ७ गतेदेखि नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुनेछ । सेभेन सिजले यसका लागि हिन्दी रिलिज अधिकार पनि खरिद गरेको छ ।
कम्पनीका सञ्चालक विनोद पौडेलले ‘ह्रस्व दीर्घ’ विदेशमा बक्सअफिसमा प्रदर्शन हुने जानकारी दिएका छन् । यस्तै अभिनेता हरिहर अधिकारीका अनुसार, “यो फिल्म नेपाली र हिन्दीमा रिलिज भएको दुई महिना पछि तेलुगु भाषामा पनि रिलिज गर्ने योजना छ ।” उनले थपे, “हाम्रो फिल्ममा धेरै दक्षिण भारतीय र बलिउडका कलाकारहरूले अभिनय गरेका छन् । जसले गर्दा हामीले भारतीय बजारमा प्राथमिकता दिन सक्छौं । भारतीय वितरकहरूले पनि यो फिल्मप्रति राम्रो चासो देखाइरहेका छन्।”
‘ह्रस्व दीर्घ’लाई नीता फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो भने यसको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगानासंगै ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्मको कथा हरिहर अधिकारीले लेखेका छन् भने प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरले पटकथा तथा संवाद तयार गरेका छन् । बलिउडका प्रसिद्ध सिनेमाटोग्राफर कवीरलालले यस फिल्मको छायांकन गरेका छन् भने चन्द्र पन्तले यसलाई निर्देशन गरेका छन् । जो यसअघि केही भोजपुरी फिल्मको निर्देशन गर्दै करिब पाँच दर्जनभन्दा बढी नेपाली फिल्ममा द्धन्द्व निर्देशकको रूपमा काम गरिसकेका छन् ।
Discussion about this post