इटहरी/ साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलको मुख्य भूमिका रहेको म्युजिक भिडियो ‘मालती’ नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा धेरै लगानीमा निर्माण भएको चर्चा यतिबेला चलिरहेको छ । यो भिडियो दशैंअघि थाइल्याण्डमा छायांकन गरिएको हो, जसमा निर्देशक सञ्जय न्यौपानेले ६० लाख रुपैयाँभन्दा बढीको लगानी रहेको खुलासा गरेका छन् ।
बुधबार अभिनेता विशाल खरेलको जन्मदिनको अवसरमा यस म्युजिक भिडियोको फर्स्टलुक स्वरुप केही तस्वीरहरु सार्वजनिक गरिएको छ । तर, म्युजिक भिडियो भने सार्वजनिक भैसकेको छैन । यो ‘मालती’ भिडियो एक साताभन्दा बढी समय लगाएर छायांकन गरिएको हो । जहाँ थाइल्याण्डका मंहगा मोडलहरूलाई कोरसमा देख्न सकिन्छ । फर्स्टलुकमा अभिनेत्री साम्राज्ञी आकर्षक तथा बोल्ड लुक्समा प्रस्तुत भएकी छन् भने खरेलसँग उनी रोमान्टिक अवतारमा देखिन्छिन् ।
निर्देशक सञ्जयले यो गीतले नेपाली म्युजिक भिडियोहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने दाबी गरेका छन् । गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो), डिवी यो म्याजेस्टीको शब्द र संगीत रहेको छ भने ममता गुरुङ, बुलेट फ्लो र डिवी यो म्याजेस्टीले स्वर दिएका छन् । सौरभ लामाले छायांकन गरेको यो भिडियोलाई कमल खतिवडा र सञ्जय न्यौपानेले निर्माण गरेका हुन् । लोकेन्द्र सुब्बाको सम्पादन रहेको भिडियोलाई थाइल्याण्डका ओस्कार डिपिपीले प्रोडक्सन म्यानेजरको रूपमा व्यवस्थापन गरेका छन् ।
Discussion about this post