इटहरी/ ‘राजागंज’ सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छ, जसलाई दीपक रौनियारले निर्देशन गरेका छन् । यसअघि विभिन्न विश्वप्रसिद्ध फिल्म महोत्सवमा ‘पूजा, सर’ नाममा प्रदर्शन भएको यो फिल्म नेपालमा भने ‘राजागंज’ नामबाट रिलिज गरिने निर्माण टिमले जनाएको छ । मंगलबार फिल्मको निर्माण टिमले एक प्रेस विज्ञप्ति जारी गर्दै फिल्म आगामी चैत्र १ गतेबाट नेपालभरका फिल्म हलमा रिलिज हुने जानकारी दिएको हो । नेपालमा यस फिल्मलाई ‘टिफल्क’ र ‘ब्यांकटेश इन्टरटेनमेन्ट’ले संयुक्त रूपमा वितरण गर्ने भएका छन् । ‘
‘राजागंज’ले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता ठूला फिल्म महोत्सवमा आफ्नो प्रभाव जमाइसकेको छ । निर्देशक दीपक रौनियार नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय महोत्सवसम्म पुर्याउने पहिलो निर्देशक हुन् । उनको पहिलो फिल्म ‘हाइवे’ २०१२ मा बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन गरिएको थियो । त्यसपछि उनले निर्देशन गरेको दोस्रो फिचर फिल्म ‘ह्वाइट सन’ पनि विश्वप्रसिद्ध महोत्सवहरूमा पुगेको थियो ।
‘राजागंज’ रौनियारको तेस्रो फिचर फिल्म हो, जसले विभिन्न अन्तर्राष्ट्रिय महोत्सवहरूमा भाग लिइसकेको छ । यो फिल्ममा बलिउडका सफल निर्देशक अनुराग कश्यप कार्यकारी निर्माताका रूपमा जोडिएपछि नेपालमा समेत चर्चामा आएको छ । कश्यपले विश्वप्रसिद्ध मिडिया ‘भेराइटी’मा दिएको अन्तर्वार्तामा ‘ह्वाइट सन’ हेरेपछि दीपक रौनियारको प्रशंसक बनेको बताएका थिए ।
सोसल ड्रामा र एक्सन श्रेणीमा रहेको ‘राजागंज’मा आशा मगराती मुख्य भूमिकामा छिन् । अन्य कलाकारहरूमा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई, र नीरज श्रेष्ठ रहेका छन् । सत्य घटनाबाट प्रेरित रहेको ‘राजागंज’ले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको अप्रेसनको कथा प्रस्तुत गरेको छ । यो फिल्म स्वीट्जरल्यान्ड, जर्मनी, अस्ट्रिया, यूके, र आयरल्यान्ड जस्ता देशमा पनि बिक्री भइसकेको छ ।















Discussion about this post