इटहरी/ अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘मिसिङ: केटी हराएको सूचना’को दोस्रो टिजर सोमबार सार्वजनिक भएको छ । यो फिल्म आगामी कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउँदैछ । टिजरमा नाजिर र सृष्टिको प्रेमकथालाई मुख्य फोकस गरिएको छ, जसमा प्रेम, द्वन्द्व र रहस्यको मिश्रण छ । फिल्मको पहिलो टिजर जस्तै दोस्रो टिजरमा पनि उनीहरूको सम्बन्धमा आउने संघर्ष र पेचिलो मोडहरूलाई थप प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । टिजरको अन्त्यमा सृष्टिले नाजिरलाई अपहरण गरेको दृश्य देख्न सक्छन्, जुन पहिलो टिजरमा सृष्टिलाई नाजिरले अपहरण गरेको देखाइएको विपरीत हो ।
फिल्मलाई ‘उजेली’ निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेका छन् । उजेली ३३ वर्षअघि निर्माण भएको डकु-ड्रामा हो । फिल्ममा नाजिर र सृष्टिका साथै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय रहेको छ भने अमितेष शाह विशेष भूमिकामा छन् । हेर्नुस् टिजर ।
फिल्मको कार्यकारी निर्माता नकिम उद्दिन हुन् भने मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन र सञ्जय भट्टचन सह-कार्यकारी निर्माताको भूमिकामा रहेका छन् । दीपेन्द्र गौचनको कथा र लेखनमा आधारित फिल्ममा अमित पोखरेल र अमितेष शाहले सहायक लेखन गरेका छन् ।
फिल्मको प्राविधिक पक्षमा अमर महर्जनको छायांकन (डीओपी), निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व निर्देशन, प्रवेश मल्लिक, करुण थापा र दीपेन्द्र गौचनको संगीत रहेको छ । गीतमा दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द र सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर रहेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको यस फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछन् ।
Discussion about this post