इटहरी/ अभिनेता विजय बराल, मुकुन भुसाल, प्रकाश सपूत र अभिनेत्री अन्जना बराईलीको मुख्य भूमिका रहेको बहुप्रतिक्षित नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ कात्तिक १५ गते रिलिज हुने तयारीमा छ । यो फिल्मको ट्रेलर आज काठमाडौमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । ट्रेलरले गन्दर्भ समुदायको पुर्ख्यौली पेसा, उनीहरूले भोगेको दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई भावनात्मक रूपमा चित्रण गरेको छ । समाजले गन्दर्भ समुदायलाई कसरी परिधिमा धकेलिरहेको छ भन्ने कथा ट्रेलरमा प्रस्तुत गरिएको छ ।
फिल्मको कथा तथा निर्देशन सरोज पौडेलले गरेका छन् । फिल्ममा बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, र विनोद न्यौपानेजस्ता कलाकारहरूको पनि सशक्त अभिनय देख्न सकिन्छ । सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो फिल्मको निर्माण विनोद पौडेल र प्याट्रिक सुवेदीले गरेका छन् भने कार्यकारी निर्माताहरू रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् । हेर्नुस् ट्रेलर ।
ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य भूमिकामा रहेका विजय बरालले दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदा निकै उत्साहित भएको बताएका छन् । “यसपटक फरक तरिकाले काम गर्न पाउँदा खुशी छु,” उनी भन्छन् । ट्रेलर सार्वजनिक भएसँगै उनलाई व्यक्तिगत रूपमा धेरैले प्रतिक्रिया दिएको र आफ्नै कामले चरित्रअनुसार न्याय गर्न सकेको महसुस भएको उनी बताउँछन् ।
निर्देशक सरोज पौडेलले चलचित्रले नेपाली समाजको यथार्थ कथा भन्ने उद्देश्य राखेको र दर्शकहरूलाई आफ्नै कथाजस्तो लाग्ने अपेक्षा गरेको बताएका छन् । संगीतकार प्रशान्त शिवाकोटीको संगीत रहेको यो फिल्ममा हेमन्त कान्छा रसाइलीको सारङ्गी र मेलिना राई, प्रशान्त शिवाकोटी, र पुष्पन प्रधानको स्वर समावेश गीतहरु छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ गन्दर्भ समुदायको संघर्ष र समाजले उनीहरूप्रति राखेको दृष्टिकोणलाई पर्दामा ल्याउँदैछ, जसले नेपाली फिल्ममा नयाँ धार प्रवाह गर्ने आशा गरिएको छ ।
Discussion about this post