इटहरी/ नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनौट भएको छ । पारालैंगिक पात्रको कथामा आधारित यो फिल्म समुन्द्र भट्टको निर्देशनमा बनेको हो, जुन अक्टोबर १५ देखि १८ सम्म सियाटलमा आयोजना हुने तस्वीर फिल्म मार्केटमा छनोट भएको हो । यस फेस्टिभलमा अमेजन एमजीएम स्टुडियो, पिलर्स फण्ड, ब्लमहाउस एचबीओ, सीएए, र क्रिएटिभ ल्याण्ड स्टुडियो जस्ता प्रतिष्ठित फिल्म संस्थाहरू पनि सहभागी हुनेछन् । यो अवसरले दक्षिण एसियाली डायस्पोराका फिल्म निर्माता र सर्जकलाई विश्वव्यापी मंचमा आफ्नो प्रस्तुति दिने मौका दिएको छ।
तस्वीर फिल्म फेस्टिभलका संस्थापक रीता मेहरले यसलाई दक्षिण एसियाली फिल्मका लागि असाधारण अवसरको रूपमा हेरेकि छन् । उनले यसलाई अस्कर योग्य फिल्महरू प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर भएको बताउँदै निर्देशक भट्टको ‘गुन्युचोलो’ पनि यही अवसरको भाग भएकोमा गर्व व्यक्त गरिन्। फिल्ममा नाजिर हुसेनको प्रमुख भूमिका छ, जहाँ उनले पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिका निभाएका छन्। यो भूमिका नेपाली सिनेमा जगतमा एउटा महत्वपूर्ण साहसिक प्रयासका रूपमा लिइएको छ।
फिल्ममा सञ्चिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि अभिनय गरेका छन्। फिल्मको सम्पूर्ण पोस्ट प्रोडक्सन काम नेपाल बाहिरै हलिउड शैलीमा गरिएको छ। हलिउडकी चर्चित गायिका लिजा जेरार्डले स्वर दिएकी छन् भने ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीले तयार गरेका छन् । यो फिल्म बफेलो एट्लेसँग अन्तर्राष्ट्रिय वितरण सम्झौता गरी हलिउड र नेपाली प्रोडक्सन हाउसको संयुक्त प्रयासमा बनेको हो । निर्देशक भट्टले ‘गुन्युचोलो’ नेपालमा फेस्टिभल सर्किटपछि प्रदर्शन गरिने बताइन्, जसले नेपाली र अन्तर्राष्ट्रिय फिल्म दर्शकहरूमा यसलाई प्रतिक्षित फिल्म बनाएको छ ।















Discussion about this post