इटहरी/ अभिनेता प्रदिप खड्काको प्रमुख भुमिका रहेको फिल्म ‘एक्लो’को सम्पुर्ण छायांकन सम्पन्न भएको छ । यो फिल्मलाई निर्देशक प्रदीप शाहीले निर्देशन गरेका हुन् । साइन्स फिक्सन फिल्म ‘एक्लो’को छायांकन मुस्ताङको मनोरम दृश्यहरु र काठमाडौंमा ३५ दिनभित्र पूरा भएको हो । अब चलचित्रको पोस्ट-प्रोडक्सन कार्य लन्डनमा गरिने बताईएको छ । यद्यपि, प्रदर्शन मिति हालसम्म तय गरिएको छैन ।
फिल्मका निर्देशक शाहीले ‘एक्लो’लाई नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यका साथ तयार गरिएको बताएका छन् । शाहीले बेलायतमा फिल्म निर्माणको अध्ययन गरेका थिए, जहाँ उनले केही सर्टफिल्म र सिरिजमा काम गरेपछि नेपाली फिल्म उद्योगमा आफ्नो यात्रा सुरु गरेका हुन् । उनका अघिल्ला निर्देशकिय फिल्ममा ‘गोर्खा: विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ पर्दछन् ।
फिल्म ‘एक्लो’मा नेपाली अभिनेता प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा, सुनील थापा, दिया पुनलगायत चर्चित कलाकारहरुको अभिनय रहेको छ भने विदेशी अभिनेता जेमी बेकन पनि प्रमुख भूमिकामा देखिनेछन् । बेकन यस फिल्मका बेलायती साझेदार पनि हुन् । शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ लगायतका छन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन् । फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन् ।
Discussion about this post