इटहरी/ नेपाली फिल्म ‘ज्वाइँ साब’को ट्रेलर असोज १७ गते घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको छ । यो फिल्म यहि दशैँको फूलपातीको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । सार्वजनिक ट्रेलरले हास्यका साथ भावनात्मक कथा पनि समेटेको छ, जहाँ मुख्य पात्रको रूपमा जितु नेपालको संघर्षपूर्ण जीवन प्रस्तुत गरिएको छ । २ मिनेट ५६ सेकेन्डको यस ट्रेलरमा बुवाको इच्छा विपरीत विवाह गर्ने जितुको कथा चित्रित गरिएको छ ।
उनको विवाहको यात्रालाई रमाइलो तरिकाले देखाइएको छ, जहाँ उनले नायिका नीति शाहसँग विवाहको लागि विभिन्न चुनौतीहरू पार गर्नुपर्ने हुन्छ । यो प्रतिस्पर्धामा भारी बोक्ने, चिया बनाउने र लुगा धुनेजस्ता दैनिकी कामहरू समेटिएका छन् । अन्त्यमा एयरपोर्टको दृश्यले भविष्यको चिन्ताको संकेत गर्दछ, जहाँ जितु र नीतिलाई सानो बच्चासँग देखाइएको छ । यो भागको छायांकनको दृष्य केही दिन अघि नै सामाजिक संजालमा लिक भएको थियो । हेर्नुस् ट्रेलर ।
यो फिल्म ‘ज्वाइँ साब’लाई वसन्त निरौलाले निर्देशन गरेका हुन् भने यसमा जितु नेपालसँगै नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ । ‘रेड आइ फिल्म्स’को ब्यानरमा बनेको यस फिल्ममा समीर पण्डित, सौगात पण्डित, र पदमलाल तामाङको संयुक्त लगानी छ । लेखक शङ्कर धितालको कथा र सबिन अधिकारीको पटकथा रहेको यो फिल्मलाई श्याम तामाङले छायाङ्कन गरेका छन् ।
Discussion about this post