इटहरी/ निर्देशक सन्तोष सेनको निर्देशनमा तयार भइरहेको नेपाली फिल्म ‘बलिदान’का एक्सन दृश्यहरूको छायाङ्कन सुरु भएको छ । यो फिल्मको विगत १६ दिनदेखी कोशी प्रदेशको सुनसरी अवस्थित इटहरीमा इन्डोर स्टुडियोमा भब्य सेट तयार गरेर छायांकन गरिदैछ । त्यस्तै मोरङको कानेपोखरी, बिराटनगर लगायतका ठाउँहरुमा समेत छायांकनको लागी सेट तयार गरिएको छ । यतिबेला फिल्मको एक्सन दृश्यहरू दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा रहेको ३० जनाको टिमले तयार गरिरहेको छ ।
सामले राणा दगुबत्तीको चर्चित फिल्म ‘हात्ती मेरे साथी’ र हालै रिलिज भएको चियान विक्रमको ‘थङ्गलम’ जस्ता सफल फिल्महरूमा एक्सन निर्देशन गरिसकेका छन् । निर्देशक सेनका अनुसार अत्याधुनिक प्रविधिहरूको प्रयोग गर्दै एक्सन दृश्यहरूलाई थप प्रभावशाली बनाउन विशेष ध्यान दिइएको छ । समीर भट्ट लगायतका प्रमुख कलाकारहरूको दृश्यहरू अहिले छायाङ्कन भइरहेका छन् । मुख्य भूमिकामा अभिनेता भट्टसहित सौगात मल्ल, अर्पण थापा, दिव्य देव र ऋचा शर्मा लगायतको अभिनय रहनेछ ।
फिल्मको कथा नेपालको सार्वभौमिकता, शोषण, अन्याय र समाजका तथाकथित नेताहरूको विरुद्धमा बलिदान दिनुपर्ने संघर्षमा आधारित छ । सेनले प्राविधिक पक्षलाई पनि उच्चस्तरीय बनाउन मुम्बईबाट लाइट, साउन्ड, क्यामेरा लगायतका उपकरण ल्याईएको जानकारी दिएका छन् । उनका अनुसार, “नेपाली चलचित्रको कथा अहिले निकै बलियो भइसकेको छ, अब प्राविधिक रूपमा पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको बनाउन विशेष ध्यान दिएको छौं।” यो फिल्म बलिदानलाई ‘आसुसेन फिल्म्स प्रा.ली.’को प्रस्तुतिमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माता रहेर निर्माण गरिदैछ ।
Discussion about this post