इटहरी/ फिल्म ‘नरसिंहाः अवतार’को काठमाडौंमा शुभ मुहूर्त सम्पन्न भएको छ । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने यो एक्सन तथा सोसल ड्रामा विधामा आधारित फिल्मको मुहूर्त एनएफडिसी स्टुडियो बालाजुमा बिहीबार गरिएको हो । फिल्मको मुहूर्तमा निर्माता नरेन्द्र महर्जनले क्ल्याप हाने भने वितरक छविराज ओझाले नरिवल फुटाएर शुभारम्भ गरे । यससँगै वितरक करण श्रेष्ठले फिल्मको पहिलो एक्सन सुट गरेका थिए ।
कार्यक्रममा फिल्मका मुख्य कलाकार राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठसहित निर्माण टिमको उपस्थिति थियो । निर्देशक भट्टराईले यस फिल्मलाई आफ्नो करिअरकै चुनौतीपूर्ण परियोजना रहेको बताएका छन् । राजेश हमालले आफ्नो स्क्रीप्टलाई रोज्नु नै चुनौती रहेको उनको भनाई छ । निर्माता महर्जनका अनुसार फिल्मको फरक निर्माण शैलीले उनलाई यो प्रोजेक्टसँग जोडिन प्रेरित गर्यो । महानायक राजेश हमालले फिल्मको कथा आफ्नो अपेक्षाभन्दा भिन्न पाएपछि र उत्कृष्ट टिमअप भएकोले पुनः पर्दामा फर्किएको बताए ।
अभिनेत्री नीति शाहले आफुलाई पहिलेदेखी नै फिल्म खेल्न प्रेरित गर्ने राजेश हमालसंग नै फिल्ममा अभिनय गर्ने अवसर जुर्दा खुशी रहेको बताईन् । अर्की अभिनेत्री सनिशा भट्टराईले आफू राजेश हमालको फ्यान रहेको र उहाँसँग एउटै फिल्ममा काम गर्न पाउँदा रोमाञ्चित भएको अनुभव सुनाइन् । शिवरात्रीको अवसर पारेर फागुन १४ गते प्रदर्शन मिति तोकिएको यो फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, प्रशान्त ताम्राकार, नीर शाहलगायतका कलाकारहरूको अभिनय रहनेछ ।
आठ वर्षपछि राजेश हमालको ठूलो पर्दामा पुनरागमन हुने भएकाले यो फिल्मप्रति दर्शकहरूको उत्साह अत्यधिक छ । हमालको नयाँ लुक्सको तयारीले पनि फिल्मको प्रचारलाई थप बल दिएको छ । साथै, अभिनेता सरोज खनाल र राजेश हमालले ३० वर्षपछि पुनः एउटै फिल्ममा काम गर्दैछन् । यी दुईले १९९४ मा रिलिज भएको फिल्म ‘सडक’मा पहिलोपटक सँगै काम गरेका थिए । क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण भइरहेको ‘नरसिंहाः अवतार’को द्वन्द निर्देशक चन्द्र पन्त हुन् । यो फिल्मलाई नरेन्द्र महर्जन, पशुराम बस्नेत र ध्रुव न्यौपानेले संयुक्त रूपमा निर्माण गर्दैछन् भने एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।
Discussion about this post