इटहरी/ फिल्म ‘जेरी अन टप’को निर्माण टिम कास्टिङ लाइनअपलाई बलियो बनाउँदै गइरहेको छ । सुयोग गुरुङको निर्देशनमा बन्न लागेको यो फिल्म यसै साताबाट फ्लोरमा जाने तयारीमा छ । यसैक्रममा अभिनेत्री सुरक्षा पन्तले फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकी छन् । बुधबार निर्माण कम्पनी अनन्या फिल्म्स र पन्तबीच यो फिल्मका लागी सम्झौता भएको हो । फिल्मका निर्माता सरोज न्यौपानेले सुरक्षा पन्तलाई फिल्ममा अनुबन्ध गरिएको जानकारी गराए ।
पन्तअघि यो फिल्ममा अन्य केही प्रमुख कलाकार पनि फिल्मसँग जोडिएको भए तापनि ती कलाकारको नाम फ्लोरमा पुगेपछि मात्र खुलासा गरिने जानकारी दिए । यता यसअघि नै फिल्ममा अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङजस्ता कलाकारहरू अनुबन्ध भइसकेका छन् । कास्टिङले त्रिकोणात्मक प्रेमकथाको संकेत दिन्छ । अभिनेता अनमोलले यस फिल्मको स्क्रिप्टलाई उत्कृष्ट भन्दै यसका लागि कडा मिहिनेत गरिरहेका छन् ।
निर्माता न्यौपानेले फिल्ममा अहिलेसम्म पर्दामा नआएको कथावस्तु रहेको र नेपाली दर्शकको रुचिलाई ध्यानमा राखेर निर्माण गरिने बताए । निर्देशक सुयोग गुरुङले ‘फर्की फर्की’बाट आफ्नो निर्देशकिय क्षमता प्रमाणित गरिसकेका छन् । निर्देशक गुरुङ र अभिनेता अनमोलको यो दोश्रो सहकार्य हो ।
निर्माण टिमले यो सहकार्यले नेपाली सिनेमा क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ । फिल्मको निर्माणमा अनन्या फिल्म्ससँग दीपक भण्डारी, रविन शेरचन र रामकृष्ण श्रेष्ठ पनि सहभागी छन् भने एसोसिएट निर्मातामा ओम अग्रवाल र विवेक थापा रहेका छन् । फिल्मको कथा हेमराज बिसीले लेखेका हुन् भने चर्चित कथाकार साइग्रेस पोखरेलले स्क्रिप्टमा सहकार्य गरेका छन् । फिल्मको छायांकन काठमाडौँ, लुक्ला र लद्दाखमा हुनेछ । जसले बलिउड ब्लकबस्टर ‘थ्री इडियट्स’लाई पनि स्मरण गराउनेछ ।
Discussion about this post