इटहरी/ फिल्म ‘डिएनए’को टिजर हालै सार्वजनिक भएको छ । नेपाली पौराणिक भनिएको यो फिल्म हालै निर्माण घोषणा गरिएको हो । एक्सन थ्रिलर जनरामा निर्माण गरिने यो फिल्मबाट नव अभिनेता सुधन पोखरेललाई एक्सन अवतारमा प्रस्तुत गरेको छ । हालै यो फिल्मको ‘एनाउन्समेन्ट टिजर’ सार्वजनिक गरिएको छ । छायाङ्कन अघि नै रिलिज गरिएको यस ‘अनाउन्समेन्ट टिजर’ मा सुधन पोखरेल एक रहस्यमय बाकसबाट निस्किरहेको अनौठो प्रकाश देखेर अचम्मित हुँदै संघर्ष गरिरहेका देखिन्छन् ।
निर्देशक चानस पुन मगरका अनुसार, यो प्रकाश कुनै पौराणिक वस्तुको प्रतीक हो, जुन चलचित्रको मुख्य कथामा गहिरो अर्थ राख्छ । फिल्म ‘डिएनए’ मा पौराणिक कथालाई आधुनिक अनुकूलनमा प्रस्तुत गर्दै सुधनसँगै दिपक केसी र चिरायु पौडेलको अभिनय रहेको छ । यो फिल्म चानस पुन मगर र मणि रत्न त्रिपाठीको संयुक्त लेखन तथा निर्देशनमा बन्न लागेको हो । निर्देशक त्रिपाठीले पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकलाई नयाँ अनुभूति दिलाउने आशा गरेका छन् । हेर्नुस् एनाउन्समेन्ट टिजर ।
फिल्मको छायाङ्कन फाल्गुनमा सुरु हुने बताइएको छ भने निर्माणको जिम्मा फोनिक फ्लिकले बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्यमा लिएको छ । एक्सन निर्देशन राजु तामाङले गर्नेछन्, छायाङ्कनमा सुशान्त केसी र प्रशान्त योगी रहनेछन् भने सहायक छायाकारको भूमिकामा यज्ञलाल ज्ञवाली हुनेछन् ।
यस फिल्ममा मानस्वी मालाकारको संगीत, चिरायु पौडेलको मुख्य सहायक निर्देशन, गणेश क्षेत्रीको सम्पादन, बर्षा क्षेत्रीको कस्ट्युम डिजाइन तथा सुदीप पाण्डेको रङ्ग संयोजन समावेश हुनेछ । साउन्ड डिजाइनको जिम्मा सुदिल धितालले लिएका छन् भने पोस्टर डिजाइन रोयल भीमसेन र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गर्नेछन् । फिल्मको निर्माता कुमार भास्कर हुन् भने एसोसियट निर्माता आशिष पुडासैनी र कार्यकारी निर्माता बिकाश भण्डारी छन् ।
Discussion about this post