इटहरी/ यहि असोज ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सानो संसार’को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा प्रमुख भूमिकामा अभिनेत्री सितादेवीले गरिबीले ग्रस्त परिवारको संघर्षपूर्ण जीवनको कथा प्रस्तुत गरेकी छिन् । सितादेवी हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’को श्रीमती हुन् । सिद्धार्थ पुँडासैनीको निर्देशनमा बनेको यो फिल्मले गरिब परिवारहरूको सामाजिक, आर्थिक र भावनात्मक पीडालाई पर्दामा प्रस्तुत गरेको छ ।
ट्रेलरमा जीवनका कठिनाइ, परिवारमा आउने समस्याहरू र गरिबीले थिचिएका पात्रहरूको यथार्थ चित्रण गरिएको छ । फिल्ममा सितादेवीसँगै अन्जसा रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा, जीवन गौतम, सरिता भण्डारी र शिशिर सिवाकोटीको सशक्त अभिनय रहेको छ । कलाकारहरूको प्रस्तुतिले पारिवारिक संघर्षलाई अझै गहिरो रूपमा चित्रण गरेको देख्न सकिन्छ । हेर्नुस् ट्रेलर ।
अर्जुन कुमारको निर्माणमा बनेको यस फिल्मका कार्यकारी निर्माताको रूपमा माधव वाग्ले छन् । फिल्मको कथा सरिश्मा खत्री र निर्देशक पुँडासैनीले मिलेर लेखेका हुन । प्रविण खड्काले फिल्मको छायाँकन गरेका छन् । रोमि मोसेस तण्डुकारको सम्पादनले फिल्मलाई प्राविधिक रूपमा आकर्षक बनाउन मद्दत गरेको छ । सामाजिक यथार्थ र गरिबीको गहिरो चित्रणसहितको ‘सानो संसार’ फिल्मले विशेष गरी गरिबीको चपेटामा रहेका परिवारहरूको कथा बोलेको हुनाले दर्शकहरूलाई भावनात्मक रूपमा छुन सक्ने अपेक्षा गरिएको छ ।
Discussion about this post