इटहरी/ फिल्म ‘दुखी आत्मा’ ले दयाहाङ राई र आँचल शर्मालाई मुख्य भूमिकामा प्रस्तुत गर्दै सोमबार अर्थात् भदौ २४ गतेदेखि छायांकन सुरु गरेको छ । दीपेन्द्र लामाको लेखन र निर्देशनमा निर्माण भइरहेको यो फिल्म काठमाडौंका विभिन्न स्थानमा खिचिँदैछ । छायांकन सुरु भएलगत्तै दयाहाङ र आँचलको केही तस्बिर सार्वजनिक भएका छन्, जसले फिल्मप्रति थप चासो जगाएको छ ।
फिल्ममा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार र यासेली योङहाङ पनि देखिनेछन् । निर्देशक लामाले सम्पूर्ण छायांकन काठमाडौं उपत्यकाभित्र गरिने बताएका छन् । निर्माता हिमाल कडरियाले फिल्मलाई थप रमाइलो बनाउन कुनै कमी नराखिने बताएका छन् ।
यसअघि ‘नाङ्गो गाउँ’ नामक सुपरहिट फिल्म निर्माण गरेको यो टोलीले ‘दुखी आत्मा’मा पुनः सहकार्य गरिरहेको छ । जसले दर्शकमा विशेष अपेक्षा बढाएको छ । क्लक वर्क क्रीयसन्सको ब्यानरमा निर्माण भइरहेको यो सोसियल कमेडी फिल्म हो । फिल्मको छायांकन आलोक शुक्लाले गरिरहेका छन् भने संगीत सुशान्त गौतमले दिएका छन् । कोरियोग्राफी रामजी लामीछानेको रहनेछ भने प्रोडक्शन म्यानेजरको रूपमा सुदीप ढकाल छन् ।
Discussion about this post