इटहरी/ ओपन स्पेस प्रालीको आयोजनामा सञ्चालित सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आईकन-२०२४’ मा विवाहित महिलाहरुले मात्र प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता विवाहित महिलाहरुको लागि सौन्दर्य प्रदर्शन मात्रै नभएर उनीहरुको सीप, बौद्धिक क्षमता, व्यक्तित्व विकास, आत्मविश्वास, आत्मबल, र महिला सशक्तीकरणमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको हो । यस प्रतियोगितामा शुभेक्षा कार्कीको कोरियोग्राफीमा ८ जना प्रतिष्पर्धीले प्रतिस्पर्धा गरिरहेका छन् । यसै प्रतियोगिताका एक प्रतिष्पर्धी हुन् रेस्मा आङदेम्बे लिम्बु ।
रेस्मा आङदेम्बे लिम्बुको बाल्यकाल र शिक्षा:
मोरङको पथरीमा जन्मिएकी रेस्मा आङदेम्बे लिम्बुका बुवा केवल बहादुर आङदेम्बे र आमा चन्द्रमाया सेर्मा हुन् । उनको शिक्षा बीएड दोस्रो वर्षसम्मको हो । सामान्य परिवारमा हुर्किएकी रेस्माले बाल्यकालदेखि नै शिक्षण पेशामा लाग्ने सपना देखेकी थिइन् । परिवारका अरु सदस्यभन्दा फरक स्वभावकी, चञ्चले र काममा दृढ रहने उनको बाल्यकाल शिक्षण पेशामा लाग्ने आकांक्षाले भरिएको थियो ।
किशोरावस्था र विवाहपूर्वको संघर्ष:
विवाहपूर्व बीएडको पहिलो वर्षमा अध्ययनरत रेस्मा, शिक्षण पेशामा करियर बनाउने सोचमा थिइन् । तर, पारिवारिक अवस्था कमजोर भएकाले उनले १२ कक्षापछि एक बोर्डिङ स्कुलमा पार्ट-टाइम काम गरिन् । विवाहपछि भने उनलाई आफ्नो पढाई र जागीर छोड्नुपर्यो । विवाहअघिको समयमा उनले कुनै पनि प्रतियोगितामा भाग लिएकी थिइनन् ।
विवाहपछिको जीवन यात्रा:
२०७१ सालमा परिवारको सहमतिमा मागी विवाह गरेकी रेस्माको श्रीमान् सेनओत लिम्बू हुन् । विवाहपछि परिवार, श्रीमान् र आफन्तहरुको पूर्ण समर्थन पाएकी रेस्माले यसअघि कुनै सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइनन् । तर, ‘मिसेस पुर्बेली आईकन-२०२४’ मा सहभागी भइसकेपछि उनको बौद्धिक र शारीरिक विकासमा उल्लेखनीय परिवर्तन आएको अनुभव सुनाउछिन् । साथै, कुनै पनि विषयमा लगाव राख्दै गहन अध्ययन गर्नु जरुरी रहेको उनको भनाई छ ।
परिवारको समर्थन र भविष्यको योजना:
रेस्मालाई उनका साथीहरू र माईतबाट प्रशंसा र समर्थन प्राप्त छ । उनीहरुलाई ‘तिमीमा क्षमता छ, जित्नुपर्छ’ भन्दै प्रोत्साहन मिलेको उनी बताउछिन् । विवाहअघि देखेका सपना अझै पूरा नगरेको भए पनि उनले अब आफ्नो लागि केहि गर्ने सोच बनाएकी छिन् । पारिवारिक जिम्मेवारी पूरा गर्दै उनले भविष्यमा समाजसेवामा लाग्ने र अरुलाई आफ्नो ज्ञान तथा सीप प्रदान गर्ने योजना बनाएकी छिन् ।
प्रतियोगितामा जित वा हारको सोच:
यो प्रतियोगितामा जित्न या नजित्न कुनै फरक नपर्ने बताउँछिन् रेस्मा । जीवन संघर्ष नै हो भन्ने सोच राख्दै उनी निरन्तर मेहेनत गरिरहने बताउँछिन् । नजिते पनि यो कार्यक्रमबाट उनी अन्य क्षेत्रमा लाग्ने आँट बटुलेकी बताउछिन् । तर, यदि उनी विजयी भइन् भने समाजमा महिलामाथि हुने हिंसा, अशिक्षा र दुव्र्यवहार विरुद्ध लड्दै समाज र देशको सेवामा समर्पित हुने योजना बनाएकी छिन् ।
Discussion about this post