इटहरी/ अभिनेता विराज भट्टको निर्देशनमा बनेको बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘सिनेमा हेर्न जाउँ’ बोलको रोमान्टिक गीतमा समीर भट्ट र सोनु चन्द्रपालको जोडीलाई प्रस्तुत गरिएको छ । समीर, जो विराज भट्टका छोरा हुन् । यस फिल्मबाट उनले अभिनयमा डेब्यु गर्दैछन् भने सोनु चन्द्रपाल, चर्चित गुजराती तथा दक्षिण भारतीय अभिनेत्री हुन् ।
उनले नेपाली फिल्म क्षेत्रमा यहि फिल्मबाट डेब्यु गर्दैछिन् । यो गीत युट्युबमा सार्वजनिक भएको २ घण्टाभित्रै नेपाल ट्रेन्डिङको सूचीमा पर्न सफल भयो । हामिले यो समाचार तयार पार्दासम्म भिडियोले २ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ भने युट्युब ट्रेन्डिङको ११ औं स्थानमा रहँदै ३७ हजार लाइक र ६ हजारभन्दा बढी सकारात्मक प्रतिक्रिया बटुलिसकेको छ । हेर्नुस् उक्त गीतको भिडियो ।
गीतको कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन् । जहाँ समीर भट्टको नृत्यले दर्शकहरूको ध्यान खिचेको बुझ्न सकिन्छ । दर्शकहरू समीरको प्रयास र उनको पहिलो प्रस्तुतीको तारिफ गर्दै कमेन्ट बक्समा सकारात्मक प्रतिक्रिया दिइरहेका छन । अर्जुन पोखरेलको संगीत र बलिउड गायक नकाश अजिजको आवाजले गीतलाई थप उचाइ दिएको छ ।
फिल्मको टिजर र पोस्टरले नै दर्शकहरूमा ठूलो उत्साह जगाएको थियो, जसका कारण यो गीतको प्रतिक्षा व्यापक थियो । ‘१२ गाउँ’मा समीर र सोनुका अलावा न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा स्टन्ट शिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
Discussion about this post