इटहरी/ नेपाली सांगीतिक इतिहासमा महत्वपूर्ण स्थान राख्ने कालजयी गीत ‘राजमती’लाई पुनः आधुनिक स्वरूपमा नेपाली भाषामा प्रस्तुत गरिएको छ । करिब २५० वर्ष पुरानो यस गीतलाई ११५ वर्ष पहिले भारतको कलकत्तामा पहिलो पटक रेकर्ड गरिएको थियो । नेपालको पहिलो गायक सेतुराम प्रधानले विसं १९६५ मा कलकत्तामा गएर नेपालभाषाका ‘राजमती’ सहित १४ वटा गीतहरू ग्रामोफोन डिस्कमा रेकर्ड गराएका थिए ।
ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना यही हो । यसलाइ सो बेला नेपाल भाषा अर्थात नेवारी भाषामा रेकर्ड गरिएको थियो । नेवारी भाषामा यो गीत भएपनी सबै समुदायमा यसको लोकप्रिय अहिलेसम्म पनि कायम नै छ । हालै सार्वजनिक गीतको नेपाली संस्करणलाई गीतकार कृष्णदेव रिमालले पुनर्लेखन तथा गायक कृष्ण काफ्लेको स्वरमा नयाँ ढङ्गले ल्याइएको हो । यो गीतको संगीत संयोजन सन्तोष श्रेष्ठले गरेका छन्, जसले पुरानो धुनलाई संरक्षण गर्दै नयाँपन थपेका छन् । हेर्नुस् गीतको भिडियो ।
ड्रिम वर्ल्ड अफ फिल्म मेकर्सले यस गीतको नेपाली संस्करण ल्याएर संसारभर रहेका नेपालीभाषीहरूसँग यस कालजयी धरोहरलाई पुनः जोड्ने उद्देश्य राखेको छ । भिडियो पनि १०० वर्षअघिको ऐतिहासिक पृष्ठभूमिलाई आधार बनाएर तयार पारिएको छ । सागर खनाल र सोनी लगुनको अभिनय रहेको यो म्युजिक भिडियोको निर्देशन सबनम मुखियाले गरेका हुन् भने रश्मी प्याकुरेलले यसलाई प्रोड्युस गरेका छन् ।
Discussion about this post