इटहरी/ फिल्म ‘कार्साङ’को अफिसियल पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । आगामी पौष २६ लाई प्रदर्शन मिति लक गर्दै सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना निङलेखुको क्यारेक्टरलाई समेत प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टरको अनुसार फिल्मले सेर्पाको संस्कार संस्कृतीलाई प्रमुख कथा बनाएको बुझ्न सकिन्छ । याम शेर्पा द्वारा निर्देशित फिल्मको सार्वजनिक पोस्टरमा गाउँको पुरानो घरको दृश्य देखाइएको छ ।
जहाँ दुई पात्रहरू छन्, एक जना महिला जो माटोमा बसेर रोईरहेकी छन् । परम्परागत शेर्पा पोशाकमा रहेकी उनी अभिनेत्री सिर्जना हुन् । र अर्का एक पुरुष जो उभिएका छन्, शरीरको माथिल्लो भागमा कपडा लनगाएका ती पात्र दयाहाङ राई हुन् । पोस्टरमा उनले कसैलाई रिसको भावमा हेरिरहेको अवस्थामा देखाईएको छ । यो फिल्मलाई यार्सा फिल्म्सले प्रस्तुत गरेको हो भने निर्माणमा पुरूषोत्तम प्रधान फिल्म्ससँगको सहकार्य रहेको छ ।
‘कार्साङ’मा दया र सिर्जनाको अलावा जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, रविन्द्र झा, यासेली लिम्बू, प्रेम लोप्चन, कबिता अलि लगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्मको निर्माताको रुपमा पुरूषोत्तम प्रधान रहेका छन् भने सहायक निर्माता गोबिन्द बोहरा र लाईन प्रोड्युसर बिरेन्द्र शाही हुन् । फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ । यो फिल्म ‘कार्साङ’ले शेर्पा समुदायको जीवनशैली, संस्कार र संस्कृतिलाई उजागर गर्ने अपेक्षा गरिएको छ ।
Discussion about this post