इटहरी/ बुवाको मुख हेर्ने दिनको अवसर पारेर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ । यो फिल्म लक्ष्मीपूजाको अवसर पारेर आगामी कात्तिक १५ गते प्रदर्शनमा आउने तयारी छ । यो दिन अन्य २ फिल्म प्रदीप खड्का अभिनित ‘एक्टर’ र पल शाह अभिनित ‘मायावी’ पनि प्रदर्शनमा आउँदै छ । यो तिहारमा यी ३ ‘प’ अर्थात प्रकाश, प्रदिप र पलको फिल्मी भिडन्त रोचक देखिने भएको छ । ‘पुर्ण बहादुरको सारङ्गी’को टिजरलाई सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
जसमा विजय बराल र प्रकाश सपूत मुख्य भूमिकामा देखिएका छन् । टिजरले गरिबीमा बाँचिरहेका पात्रहरूको संघर्ष, बुवाको त्याग र छोराको सफलताको कथा प्रस्तुत गर्दछ । टिजरको सुरुवात प्रकाशको एसएलसीमा जिल्लाकै प्रथम भएको खुसी बुवालाई सुनाउँदै हुन्छ । त्यसपछि विजयको पात्रले आफ्नो छोराका लागि गरेका त्यागहरूलाई स्मरण गर्दै आफ्नो स्टकोट काटेर भोटो सिलाउनु, काँधमा बोकेर स्कुल पुर्याउनु र सारङ्गी बजाएर गाउँदै हिँड्ने गरेको संघर्षलाई देखाउँछ । टिजरका अनुसार प्रकाश सपूत छोरा हुन् भने उनको बुवा विजय बराल हुन् । हेर्नुस् टिजर ।
टिजरको अन्त्यमा प्रकाशले सहरबाट फर्किएपछि बुवाले जतनले राखेको सारङ्गीलाई खोल्दै, बुवाको त्यागलाई सम्झने दृश्य प्रस्तुत गरिएको छ । बुवाले छोराको उज्ज्वल भविष्यका लागि गरेको त्याग र संघर्षको भावनात्मक प्रस्तुति टिजरमा देख्न सकिन्छ । यो फिल्मका निर्माता विनोद पौडेल हुन् भने फिल्मको लेखन र निर्देशन सरोज पौडेलले गरेका छन् ।
विजय र प्रकाशसँगै, फिल्ममा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलियास बास्तोला, श्याम केसी, र जानवी पौडेलको पनि अभिनय रहेको छ । सेभेन सिस सिनेमा र बासुरी फिल्म्सको प्रस्तुति रहेको यस फिल्मलाई सेभेन सिज इन्टरटेनमेन्टले नेपालसहित अन्तर्राष्ट्रिय वितरण गर्दैछ । गन्धर्व परिवारको कथा समेटिएको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् ।
Discussion about this post