इटहरी/ नेपाली फिल्म ‘सतिदेवी’ अहिले देशभरका हलहरूमा प्रदर्शन भइरहेको छ । यो फिल्मले दर्शकहरूबाट अत्यधिक प्रशंसा पाउँदै आएको छ । भावनात्मक कथावस्तु र उत्कृष्ट अभिनयका कारणले गर्दा फिल्मले धेरै दर्शकलाई भावुक बनाएको छ । जसले गर्दा हलबाट रुदै निस्किएको दृश्यहरू समेत सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ । यस्तै, एक दर्शकले आफ्नो अनुभव फेसबुकमा साझा गर्दै फिल्मले दिएको भावनात्मक प्रभावबारे बोलेकी छन् ।
सुजा चोम्बाङ लिम्बू नामकी उक्त फेसबुक प्रयोगकर्ताले ‘सतिदेवी’ फिल्मलाई लिएर भिडियोसहित प्रतिक्रिया व्यक्त गरेकी छन् । उनले फिल्म हेरेपछि लगातार तीन दिनसम्म त्यो कथालाई सम्झिँदै रुँदै बसेको बताएकी छिन् । सुजाले शुक्रबार नै उक्त फिल्म हेरेको र आफ्नो सोचभन्दा निकै उत्कृष्ट रहेको बताएकी छिन् ।
भिडियोमा उनले फिल्मको प्रशंसा गर्दै सम्पूर्ण फिल्म युनिटलाई धन्यवाद व्यक्त गरेकी छन् । उनले विशेषगरी सतिदेवीको भूमिका निभाएकी कलाकार मलिका महत र बालकलाकारहरुको अभिनयलाई मन पराएको उल्लेख गरेकी छिन् । ‘सतिदेवी’ फिल्ममा मुख्य भूमिका निभाएका कलाकारहरूको सशक्त अभिनय र कथा प्रस्तुत गर्ने तरिकाले दर्शकहरूलाई हलसम्म तान्न सफल भएको छ । फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक भएसँगै सो पोस्टरमा मलिका महतलाई कालोमोसो र जुत्ताको माला लगाएको अवस्थामा देखिएपछि दर्शकहरूको चासो बढेको थियो ।
‘सतीदेवी’ले पितृसत्तात्मक सोचलाई चुनौती दिएको छ भने विशेषगरी छोरा अनिवार्य भन्ने धारणा विरुद्ध बोल्छ । चलचित्रले समाजमा छोरीहरूको महत्त्व र योगदानलाई प्रस्ट रूपमा उजागर गर्छ । फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुवेदी हुन् । फिल्ममा मलिकासंगै सन्दीप, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, मनिषा सापकोटा, र सुजिता सिवाकोटीको अभिनय रहेको छ । फिल्ममा बाबु श्रेष्ठको छायांकन र तारा थापा (किम्भे)को सम्पादनले उत्कृष्टता थपेको छ । ‘सतीदेवी’ले केही महत्त्वपूर्ण चलचित्र महोत्सवहरूमा अवार्ड जितिसकेको छ । जसले यसको उच्च गुणस्तरलाई प्रमाणित गर्छ ।
Discussion about this post