इटहरी/ यहि भदौ १० गते सोमबारबाट फिल्म ‘पिताम्बर’ को छायांकन सुरु भएको छ । बालाजुस्थित एनएफडीसी ल्याबमा आयोजित शुभमुहूर्त समारोहबाट यस फिल्मको छायांकनको पहिलो शट खिचिएको हो । निर्देशक कृषा चौलागाईले आफ्नो दोस्रो फिल्मको छायांकन अभिनेता प्रदीप खड्का र सौगात मल्लको मुहूर्त सटसँगै आरम्भ गरेकी हुन् । अनुपविक्रम शाही र आँचल शर्माको अनुपस्थितिमा सिनेमाको अन्य कलाकारहरूले भने छायांकनमा सहभागीता जनाइसकेका छन् ।
अनुप अमेरिकाबाट फर्केपछि र आँचलले ‘वर एण्ड वधु’ फिल्मको प्रचारकार्य सकेपछि छायांकनमा सहभागी हुनेछन् । फिल्मको पहिलो चरणको छायांकन पूरा भएपछि निर्माण टोली केही दिनभित्रै नवलपरासीको छायांकनमा निस्किने छ । यसअघि यो फिल्मको पहिलो चरणको छायांकन पनि नवलपरासीमै गरिएको थियो । ‘पिताम्बर’ निर्देशक कृषा चौलागाईको दोस्रो निर्देशकीय फिल्म हो । यो फिल्मलाई उनले आफ्नो ड्रीम प्रोजेक्टको रुपमा लिएकी छन् ।
यस फिल्ममा सौगात र प्रदीपसँगै दयाहाङ राई, प्रमोद अग्रहरी, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, बिशाल पहारी लगायतका कलाकारहरुको अभिनय रहनेछ । विशेष भूमिकामा अभिनेता आर्यन सिग्देल पनि प्रस्तुत हुनेछन् । फिल्मको छायांकनको जिम्मा पुरुषोत्तम प्रधानले लिएका छन् भने निर्माण विशाल चौलागाईले गरेका हुन् । प्रदीप भारद्धाजको लेखनमा रहेको यो फिल्मको कुल बजेट ५ करोड रहेको जानकारी दिइएको छ ।
Discussion about this post