इटहरी/ निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैं’ श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक गरिएको छ । हर्क साउदले लेखेको यो गीतमा निशान भट्टराई र समीरा थपलियाले स्वर दिएका छन् भने कल्याण सिंहले संगीत भरेका छन् ।
लिरिकल भिडियोमा फिल्मका प्रमुख कलाकार विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेतीको दृश्यहरु समेटिएका छन् । विशेष कुरा के छ भने, यो गीत अभिनेता विपिन कार्कीकी दिवंगत आमा सरस्वती कार्कीको सम्झनामा समर्पित गरिएको छ । हेर्नुस गीत
विपिन कार्कीले फिल्ममा जवान र वृद्ध दुई फरक भूमिकामा अभिनय गरेका छन् । १२ वर्षपछि निर्देशक शंकर घिमिरे यो सिनेमाबाट निर्देशनमा फर्किएका हुन् । उनले यसअघि ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ जस्ता सिनेमाहरु निर्देशन गरेका थिए ।
‘तेल भिसा’ आगामी मंसिर ७ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । वेलडन क्रियसनको व्यानरमा निर्माण भएको यस फिल्ममा ऋचा घिमिरेको प्रस्तुति, अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ भने प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता रहेका छन् । फिल्मको छायांकन सुशन प्रजापतिले गरेका छन् भने कोरियोग्राफी रामजी लामिछाने र शिशिर खातीले सम्हालेका छन् । फिल्मको सम्पादन अजय खड्काले गरेका छन् ।
Discussion about this post