इटहरी/ नेपाली चलचित्र क्षेत्रमा एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि पर्दामा फर्किएकी छन् । उनको अभिनय रहेको वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । यो सिरिज अमेरिकामा बस्ने नेपाली कलाकारहरूको संयुक्त प्रयास हो । सिरिज निर्देशक बिमलेश अधिकारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पोस्टरमा सिरिजलाई विदेशबाट नेपाली कथा वाचनमा एउटा महत्वपूर्ण कोशेढुंगाको रूपमा चित्रण गरिएको छ । सिरिजले विश्वभर छरिएर रहेका नेपाली दर्शकहरूलाई लक्षित गरेको छ ।
‘घर बट इन अमेरिका’ सिचुएशनल कमेडी ड्रामा विधाको सिरिज हो । यसमा गोप्य रूपमा लिभ-इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो पटक अमेरिका भ्रमणमा आएका आमाबुवाको वरपरका घटनाहरूलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । सिरिजमा अरुणिमासँगै बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली र रोजिना थापा जस्ता कलाकारहरूको पनि अभिनय रहेको छ । सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा भएको छ ।
बिमलेश अधिकारीले नै यस सिरिजको अवधारणा तयार पारेका हुन् भने विवेक चम्लागाईंले सिरिजको स्क्रिप्ट लेखेका छन् । सिरिजको पहिलो सिजनको छायाङ्कन सकिएको छ र केही दिनभित्रै टिजर सार्वजनिक गर्ने तयारी छ । यद्यपि, सिरिज कुन प्लेटफर्ममा स्ट्रिमिङ हुनेछ भन्ने जानकारी अझै सार्वजनिक गरिएको छैन । अरुणिमालाई पर्दामा फर्किएको देखेर दर्शकहरू उत्साहित छन् । उनका फ्यानहरूले सामाजिक सञ्जालमा सिरिजको प्रतिक्षामा रहेको बताएका छन् । यो सिरिजले नेपाली चलचित्र क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । विशेषगरी अमेरिकामा बसोबास गर्ने नेपाली दर्शकहरूका लागि यो सिरिज निकै आकर्षक हुने अनुमान गरिएको छ ।
Discussion about this post