इटहरी/ फिल्म ‘रावायण’को प्रचारप्रसार गतिविधि तीव्र रुपमा भइरहेको छ । यो फिल्म यही भदौ २१ गतेबाट रिलिज हुँदैछ । प्रारम्भिक चरणमा, फिल्मको टिमले विशेषगरी कलेजका युवा दर्शकहरूमाझ प्रचार केन्द्रित गरेको छ । यसअघि कोशी प्रदेश लगायत विभिन्न प्रदेशमा पोस्टर पब्लिसिटी गरेको थियो । यतिबेला निर्देशक सुदर्शन थापा, निर्मात्री तथा नायिका पूजा शर्मा र कलाकार प्रमोद अग्रहरि र प्रकाश शाह प्रमोसनका लागि विभिन्न कार्यक्रममा व्यस्त छन् ।
आइतबार फिल्मको टिमले काठमाडौंको टेक्सास कलेजमा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्यो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा निर्देशक सुदर्शन थापाले ‘रावायण’को कथा अहिलेको युवापुस्ताका लागि नवीन र आकर्षक हुने दाबी गरे । उनले ‘रामायण’को कथा रामले अघि बढाएजस्तै, ‘रावायण’को कथा रावणबाट सुरु हुने बताए ।
निर्मात्री पूजा शर्माले दर्शकहरूले आफ्ना अघिल्ला फिल्महरूलाई जस्तै ‘रावायण’लाई पनि मनपराउनेमा आफू ढुक्क रहेको बताइन् । प्रमोद अग्रहरी र प्रकाश शाहले कार्यक्रमको दौरानमा फिल्ममा बोलेका संवादहरू प्रस्तुत गरे, जसले गर्दा दर्शक दिर्घामा हुटिङ र तालीको ओइरो लाग्यो ।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त निर्माणमा बनेको यो फिल्मका कार्यकारी निर्माता सुशन पाठक हुन् । फिल्ममा प्रमुख भूमिकामा पल शाह, पूजा शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ । फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन र रेवन आरती सिंहको संगीत रहेको छ । फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।
Discussion about this post