इटहरी/ नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री विपना थापालाई शनिवार ‘यूग नायिका’ को उपाधि प्रदान गरिएको छ । २०५० को दशककी यी सफल अभिनेत्रीलाई टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको तेस्रो संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड-२०२३ मा ‘यूग नायिका’ को रुपमा सम्मानित गरिएको हो । अभिनेत्री थापालाई उनले अभिनय गरेको पहिलो नेपाली फिल्म जन्मभूमी’ का निर्देशक तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले दोसल्ला ओढाएर सम्मानित गरेका हुन् । नृत्य निर्देशकहरु राजु शाह, कमल राई तथा छायांकार शिव ढकालले अभिनेत्री थापालाई संयुक्त रुपमा सम्मानित गरेका हुन् ।
अवार्डको जूरी सदस्यमा मेकअप आर्टिष्ट ऋतु राणा, लोक गायक नमराज ढुंगाना, गायक नविन कुमार पौडेल, संगीतकार राजेन्द्र बजगाईं तथा मोडल सञ्चिता शाही रहेका थिए । समारोहमा अभिनेता गोपाल ढकाल छन्दे, मोडल तथा कोरियोग्राफर नरेश वीर सिंह, गीतकार तथा सामाजिक अभियन्ता निर्मला राई परिवेश, गीतकार तथा सामाजिक अभियन्ता शान्ती खत्री, मोडल अंकित कुमार अधिकारी, मोडल नरेश जंग कार्की, मोडल बिपिन खड्का, गायक तथा पत्रकार पुष्पराज तिमिल्सिेना तथा अभिनेता तथा मोडल अयुब केसीलाई सम्मानित गरियो ।
शनिवार काठमाडौंमा आयोजित यो विशेष समारोहमा अघिल्लो वर्षका उत्कृष्ट म्युजिक भिडियो तथा तीनका स्रष्टालाई पुरस्कृति गरिएको थियो । समारोहमा नम्रता सापकोटा, ऋचा थापा, प्रनिमा दाहाल, प्रविणा श्रेष्ठ, दावा तामाङ, प्रशान्त मगर तथा किड्स क्यापिटल नेपाल २०२२ तथा २३ का आश्रिया थापा, आरोन श्रेष्ठ, सुहान पुन, मीमिक राना मगर, दिपशन चिलुवाल, इश्लिया गुरुङले विशष प्रस्तुति दिएका थिए । समारोहमा राजु शाहलाई लिजेन्ड्रि सिने कोरियोग्राफरको अवार्ड प्रदान गरियो भने रेनशा वान्तवा राईलाई पपुलर सिने डाइरेक्ट (फिमेल) तथा मिलन चाम्सलाई पपुलर सिने डाइरेक्टर (मेल) को अवार्ड प्रदान गरियो ।
Discussion about this post