इटहरी/ अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना मगर अभिनित फिल्म ‘घरज्वाईं’ को ट्रेलर सार्वजनिक गरिएको छ । यहि असारको २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मको ट्रेलर बिहिवार काठमाडौमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । सार्वजनिक ४ मिनेट ३ सेकेन्ड लामो ट्रेलरमा ससुरा र घरज्वाईंका कारण पतिपत्नीको सम्बन्धमा आएको उतारचढावलाई प्रस्तुत गरिएको छ ।
ट्रेलर सार्वजनिक पश्चात् कलाकार बुद्धि तामाङले बोलेको एक डाईलगमा प्रयोग भएको अपशब्दको सामाजिक संजालमा चर्चाको विषय बनिरहेको छ । केहिले त्यो फिल्ममा अपशब्द त्यसरी प्रयोग गरिनु गलत हो भनिरहेका छन् भने केहिले सो ठाउँको समुदाय तथा कथाको डिजाईन अनुसार बोलिएको त्यो अपाच्य शब्द गलत नभएको भनिरहेका छन् । यता केहिले भने त्यस्ता शब्दलाई सेन्सर अर्थात बिप लगाईनु पर्ने धारणा व्यक्त गरिरहेका छन् । हेर्नुस् ट्रेलर ।
यस विषयमा फिल्मका निर्देशक अनिल बुढा मगरले ट्रेलरमा प्रयोग भएका अप शब्दहरु रमाइलोको लागि मात्र नभएर त्यो भेग अनि समुदायको पन पनि रहेको बताए । यता ‘घरज्वाईं’ फिल्मका निर्माता जनक घर्ती मगरले पनि फिल्म प्रदर्शनका बेला भने यस्ता शब्दलाई बिप लगाईने बताए । सेन्सरले पनि यस्ता कुराहरुलाई निगरानीमा अवस्य राख्ने नै छ । मगर समुदायको संस्कार तथा संस्कृतीमा आधारीत यो फिल्मलाई ५ वर्षको अनुसन्धानपछि निर्माण गरिएको निर्माता जनकको भनाई छ ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई पूर्वी रुकुम आसपासमा छायांकन गरिएको हो । घरज्वाईंको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर र बुद्धि तामाङको अलावा पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको समेत अभिनय रहेको छ ।
Discussion about this post