इटहरी/ पछिल्लो समय कोशी प्रदेशमा चलचित्रका गतिविधिहरु बढिरहेका छन् । यो प्रदेशमा ठुला फिल्मका अडिसन गर्ने, छायांकन गर्नेदेखी यहाँ प्रिमियर गर्ने र प्रचारप्रसारमा कलाकारहरूको उपस्थिति समेत हुने गरेको छ । यस्तैमा चलचित्र पत्रकारहरूको पनि कोशी प्रदेशमा चहलपहल राम्रै हुनेगर्छ । चलचित्र पत्रकार संघ नेपालको कोशी प्रदेशमा १ प्रदेश र ४ जिल्ला शाखा गरि ५ ओटा शाखा छन् । यो जेठ महिनामा यी शाखाहरुका चलचित्र पत्रकारहरुलाई सम्मान गर्ने लहर नै चल्यो ।
जेठ महिनामा चलचित्र र चलचित्र पत्रकार सम्बन्धी आयोजना भएका ३ ओटा कार्यक्रममा ६ जना चलचित्र पत्रकार सम्मानित भएका छन् । जेठको ७ गते संघको २५ औं वार्षिकोत्सबको अवसरमा चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाले आयोजना गरेको कार्यक्रममा ‘चलचित्र पत्रकारिता पुरस्कार-२०८१’ बाट चलचित्र पत्रकार भीषण राई र गोपाल दाहाल सम्मानित भएका थिए । यस्तै सोही कार्यक्रममा नयाँलाई प्रोत्साहन स्वरुप ‘चलचित्र पत्रकार प्रोत्साहन पुरस्कार’ले नगद ५०२५ सहित चलचित्र पत्रकार सुमित कार्की सम्मानित भएका थिए ।
यता कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत आयोजना भएको ‘चलचित्र महोत्सव-२०८१’ मा पनि चलचित्र पत्रकारलाई सम्मान गरियो । उक्त महोत्सवको अन्तिम दिन अर्थात जेठ ११ गते समापन कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल मोरङ जिल्ला शाखाका अध्यक्ष प्रेम देवान सम्मानित भएका थिए । उनलाई ‘प्रादेशिक चलचित्र सम्मान’बाट सम्मानित गरिएको हो ।
यस्तै नेपाल चलचित्र संघ कोशी प्रदेश शाखाको आयोजनामा सुनसरीको रामधुनी नगरपालिका अवस्थित झुम्काको म्याजिक सिनेमा हलमा यहि जेठ १७ गते चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश सह-सचीव बिकल श्रेष्ठ र चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाका उपाध्यक्ष मनोज दाहाल एकसाथ सम्मानित भए । श्रेष्ठ र दाहाललाई कोशी प्रदेशमा रहेर लामो समयदेखी चलचित्र क्षेत्रको समृद्धिको लागी कलम चलाएको भन्दै पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको हातबाट सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
Discussion about this post