इटहरी/ अहिलेका स्टार अभिनेता अभिनेत्रीहरु जन्माएको फिल्म ‘होस्टेल’ सिरिजको तेश्रो शृङ्खला ‘होस्टेल-३’ निर्माण हुने भएको छ । यो संगै यतिबेला फिल्मका लागी कलाकारहरु अनुबन्ध भैरहेका छन् । यसैक्रममा ‘होस्टेल-३’ को प्रमुख भुमिकाको लागी रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्ध भएका छन् । यसअघि कुल ब्वाई उपनामले लोकप्रिय भएका पारस बम अनुबन्धित भएका थिए । अब यो फिल्मका लागी कलाकारहरूको लाईनअप लगभग पूरा भएको छ । अब २ कलाकार अनुबन्ध गरेपछि फिल्मका लागी कलाकार पुर्ण हुने बताईएको छ ।
हालसम्म अनुबन्ध भएका कलाकारहरुले यहि फिल्मबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् । यो फिल्मलाई सशान कँडेलले निर्देशन गर्दैछन् । नेपाली टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको उत्कृष्ट १० मा पर्न सफल हाल अनुबन्ध भएका रिहान भुटानी नागरिक हुन् । उनले यो फिल्म ‘होस्टेल-३’मा मानव नाममा पात्रको भुमिका निर्वाह गर्नेछन् । यस्तै अनुबन्ध भएका अर्का कलाकार पदम तामाङ पनि भारतको सिक्किम निवासी हुन् । नेपालमा समेत उनले बनाएका कमेडी भिडियोहरु लोकप्रिय छन् भने उनी सिक्किमका चर्चित कमेडियन हुन् । सामाजिक संजालमा उनको लाखौं फ्यान फलोइङ कमाएका उनले यो फिल्ममा ‘जिते’ पात्रको भुमिका निर्वाह गर्नेछन् ।
यता होस्टेल ३ मा अनुबन्ध भएकी अर्कि नवअभिनेत्री सिम्रन पन्तले म्युजिक भिडियो तथा थुप्रै बिज्ञापनहरुमा काम गरिसकेकी छन् । उनले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण समेत लिएकी छन् । ‘स्टार मेकर’को रुपमा चिनिएको फिल्म ‘होस्टेल’को तेश्रो सिरिज ‘होस्टेल ३’ बाट पनि आगामी दिनका लागी स्टार कलाकार जन्माउने योजना यो फिल्म निर्माण युनिटको रहेको छ । यसअघि वि.सं. २०७० सालमा निर्माण भएको पहिलो शृङ्खला ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए भने वि.सं. २०७२ सालमा निर्माण भएको दोश्रो शृङ्खला ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । उनिहरु अहिलेका ब्यस्त र लोकप्रिय अभिनेता अभिनेत्रीमा गनिन्छन् ।
फिल्ममा देशभरबाट कलेज पढ्न काठमाडौं आएर होस्टेलमा बस्दा विभिन्न समुदायका विद्यार्थीहरूको जमघट हुने र त्यहाँको जीवन भोगाइको उतारचढावहरु फिल्ममा प्रस्तुत गरिनेछ । फिल्मलाई यहि वर्ष २०८१ सालको अन्त्यतिर सार्वजनिक प्रदर्शन गर्ने लक्ष्य निर्माण युनिटको रहेको छ । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्सको सहकार्यमा निर्माण गर्ने फिल्मको निर्माता शिशिर ज्ञवाली हुन् भने कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा, लाइन प्रोड्युसर कर्ण कार्की हुन् । ‘होस्टेल-३’को कथा फिल्मका निर्देशक कँडेलले नै लेखेका हुन् भने स्क्रिप्ट माधव शर्माले तयार गरेका हुन् ।
Discussion about this post