इटहरी/ सायदै हलमा फिल्म रिलिज भएको पहिलो दिन फिल्मका प्रमुख कलाकारसहित हल भिजिटमा कोशी प्रदेश आएको ‘मनसरा’ फिल्म युनिट हालसम्मकै पहिलो हो भन्दा फरक नपर्ला । शुक्रवारबाट हलमा प्रदर्शन भएको ‘मनसरा’को बिहिवार बिराटनगरमा प्रिमियर शो सम्पन्न गरिएको थियो भने त्यसभन्दा अघिल्लो दिन ललितपुरमा गरिएको थियो । तर, फिल्म युनिटले प्रचारप्रसार देखी दर्शक भेट्नसम्मका गतिविधिहरुमा पुर्वलाई पहिलो प्राथमिकता दिएको देखिन्छ ।
बिहीवार प्रिमियर गर्न बिराटनगर आइपुगेको युनिटले शुक्रवार इटहरी, धरान र विर्तामोडका मनसरा हेर्न पुगेका दर्शकलाई हलमै पुगेर भेटेका थिए । इटहरीको इलाईट सिनेमा हलमा शुक्रवार बिहान ११ बजे मनसरा युनिट प्रमुख कलाकार सहित पुगेको थियो । सो बेला ८० जनाको हाराहारीमा दर्शक हलमा मनसरा हेर्न पुगेका थिए । कलाकारहरूको हलमा आगमन भएसंगै दर्शकको गडगडाहट तालीसहित स्वागत गरिएको दृश्य हेर्न लायक थियो । दर्शकहरुको फिल्म हेर्न उत्साहजनक उपस्थिति देख्दा इलाईटमा उपस्थित ‘मनसरा’का प्रमुख कलाकार प्रवीण खतिवडा, मिरुना मगर र दयाहाङ राई दङ्ग देखिन्थे ।
उनिहरुले जारीमा जसरी आफुहरुलाई मनपराईदिनुभएको थियो त्यसरी नै मनसरामा पनि मनपराई दिनुहुन्छ र सल्लाहसुझाव दिनुहुनेछ भन्ने अपेक्षा राखेको बताए । त्यस्तै मनसरा हेरेर राम्रो लागे साथिभाईहरुलाई पनि फिल्म हेर्न सल्लाह दिनु र मन नपरे हामिलाई सुझाव दिन अभिनेता प्रवीणले अनुरोध समेत गरे । इलाईटमा शुक्रबारको अधिकांश शोहरु भरिभराउ थियो भने आजको अन्तिम शो अनलाइन बुकिङले नै हाउसफुल भएको इलाईट सिनेमा हलका संचालक नवराज केसीले जानकारी गराए ।
यता इटहरीको अर्को हल क्विएफएक्समा पनि फिल्म युनिट प्रमुख कलाकारसहित पुगेको थियो । दिनको १:३० बजे सो हलमा पुग्दा त्यहाँ पनि भरिभराउ दर्शक थिए । मनसरा हेर्न तम्तयार भएर बसेका दर्शकमाझ अचानक फिल्मका प्रमुख कलाकारहरू हलमा प्रवेश गर्दा दर्शकहरुले होहल्ला गर्दै गडगडाहट ताली बजाएर स्वागत गरेका थिए भने केही भने छक्क परिरहेका थिए । त्यहाँ पनि दर्शकलाई फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गर्दै साथिभाईहरुलाई मनसराको बारेमा सुनाईदिन आग्रह गरे । त्यसपस्चात युनिट धरानमा अवस्थित फ्रेन्ड्स सिमेमाजमा पुग्यो । धरानमा हाल सन्चालित एकमात्र सिनेमा हल हो फ्रेन्ड्स सिनेमा ।
यसअघि दया र मिरुना अभिनित फिल्म ‘जारी’ले ५१ औं दिन मनाएको थियो । त्यसैले पनि टिम एउटै भएकोले धरानमा दर्शक भेट्न पुग्नै थियो । हलमा दया, मिरुना र प्रवीण लगायत युनिट प्रवेश गर्दा हल खचाखच थियो । हाउसफुल दर्शकले मनसरा युनिटलाई ताली बजाउदै स्वागत गरे । फ्रेन्डस सिनेमाजका निर्देशक सन्देश घिमिरेले मनसरा युनिटलाई मायाको चिनो समेत प्रदान गरेका थिए । त्यहाँ पनि दर्शकमाझ सबैले पालै पालो बोल्दै फिल्म हेरेर सल्लाह सुझाव सहित साथिभाईलाई पनि मनसरा हेर्न सल्लाह दिन अनुरोध गर्दै युनिट पुर्व लाग्यो । पुर्वको झापामा अवस्थित विर्तामोडमा रातिको शोमा पुगेका फिल्म युनिटले दर्शक भेटे । फिल्म हेरेर निस्किएका दर्शकले दया र मिरुनाको तारिफ संगै प्रवीणको अभिनय र उनले निर्वाह गरेको भुमिकाको खुलेर तारिफ गरे । उपस्थित दर्शकले जारीको हाराहारीमा कमाई गर्ने लख काटे । अब शनिबार दमकमा रहेको सिनेमा हलमा दर्शक भेट गर्दै युनिट काठमाडौ फर्किने छ । हल भिजिटमा कलाकार विजय बराल संगै फिल्मका कार्यकारी निर्माता सिजन दाहाल, कलाकार भुपेन्द्र तुम्बाहाम्फे लगायत उपस्थित थिए ।
Discussion about this post