इटहरी/ पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय बनेकी अभिनेत्री मलिका महत अभिनित फिल्म ‘सतिदेवी’को छायांकन सम्पन्न भएको छ । लमजुङको विभिन्न स्थानमा २७ दिन लगाएर छायांकन सम्पन्न गरिएको संचारकर्मी समेत रहेका लक्ष्मण सुवेदीले जानकारी गराए । सुवेदी ‘सतिदेवी’का लेखन, निर्देशक तथा निर्माता हुन् । काठमाडौ, तनहुँ र कास्कीको छायांकन सकेर फिल्म युनिट लमजुङ प्रस्थान गरेको थियो । यो फिल्ममा एक ग्रामीण भेगकी युवतीको संघर्ष र आरोहअवरोहको कथा प्रस्तुत गरिएको छ । सतिदेवीको भद्रकाली मन्दिरमा शुभ मुहूर्त गर्दै छायांकन सुरू गरिएको थियो ।
नयाँ वर्ष २०८० को छेको पारेर सुवेदीले सामाजिक कथानक फिल्म भनिएको ‘सतिदेवी’को टाईटल डिजाइन सार्वजनिक गरेका थिए भने यो फिल्मको ‘खोटो सिक्का’ बोलको गीत समेत रेकर्ड सम्पन्न भैसकेको छ । उक्त गीतमा शब्द स्वयं सुवेदीकै छ भने सुवास भुषालको संगीतमा ममता गुरुङले स्वर भरेकी छन् ।
दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा निर्माण हुने फिल्ममा प्रमुख भुमिकामा रहेकी महतले फिल्म ‘यात्रा’ बाट नेपाली सिनेमा उधोगमा डेब्यु गरेकी थिइन् भने पछिल्लो समय ‘पानीफोटो’ फिल्ममा समेत उनले अभिनय गरेकी थिइन् । तर, फिल्ममा भन्दा उनको चर्चा मोडलिङमा निकै नै छ । सतिदेवीबाट भने उनको अभिनेत्रीको यात्राको राम्रो चर्चा हुने अपेक्षा गरिएको छ । फिल्ममा मलिका संगै भोलाराज सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्दीपबाबु लोहनीलगायत कलाकारको समेत अभिनय रहने छ ।
Discussion about this post