इटहरी/ लोकप्रिय अभिनेत्री मलिका महतको प्रमुख भुमिका रहने फिल्म ‘सतिदेवी’को छायांकन प्रारम्भ भएको छ । संचारकर्मी समेत रहेका लक्ष्मण सुवेदीको लेखन, निर्देशन तथा निर्माण रहने फिल्म सतिदेवीमा एक ग्रामीण भेगकी युवतीको संघर्ष र आरोहअवरोहको कथा प्रस्तुत गरिने छ । फिल्मको सोमबार भद्रकाली मन्दिरमा शुभ मुहूर्त गर्दै छायांकन सुरू गरिएको लेखक, निर्देशक तथा निर्माता सुवेदीले फेसबुक मार्फत जानकारी गराएका छन् ।
नयाँ वर्ष २०८० को छेको पारेर सुवेदीले सामाजिक कथानक फिल्म भनिएको ‘सतिदेवी’को टाईटल डिजाइन सार्वजनिक गरेका थिए ।यस्तै यो फिल्मको एक गीत समेत रेकर्ड सम्पन्न गरिएको छ । केही अघि ‘खोटो सिक्का’ बोलको गीत रेकर्ड गरिएको हो । जसमा शब्द स्वयं सुवेदीकै छ भने सुवास भुषालको संगीतमा ममता गुरुङले स्वर भरेकी छन् ।
दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा निर्माण हुने फिल्ममा प्रमुख भुमिकामा रहेकी महतले फिल्म ‘यात्रा’ बाट नेपाली सिनेमा उधोगमा डेब्यु गरेकी थिइन् भने पछिल्लो समय ‘पानीफोटो’ फिल्ममा समेत उनले अभिनय गरेकी थिइन् । तर, फिल्ममा भन्दा उनको चर्चा मोडलिङमा निकै नै छ । सतिदेवीबाट भने उनको अभिनेत्रीको यात्राको राम्रो चर्चा हुने अपेक्षा गरिएको छ । फिल्ममा मलिका संगै भोलाराज सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, सन्दीपबाबु लोहनीलगायत कलाकारको समेत अभिनय रहने छ ।
Discussion about this post