इटहरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका अवस्थित चक्रघट्टीमा विगत ५ वर्षदेखि बन्द रहेको फिल्म हल ‘बराह चित्र मन्दिर’ पुन: संचालनमा आएको छ । गएको शुक्रवार अर्थात कार्तिक २४ गते एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त फिल्म हलको उद्घाटन गरिएको हो । नयाँ व्यवस्थापन सहित उच्च क्वालिटिको प्रोजेक्टर र साउण्ड सिस्टम सहित उक्त हलको शुभारम्भ गरिएको हो ।
शुभारम्भ कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रधानले हल पुन: संचालनमा आएकोले नयाँ व्यस्थापन टिमलाई शुभकामाना दिएका छन् । उनले आगामी दिनहरुमा यो हलले दर्शकको माग अनुसार सुविधालाई अझै विस्तार गर्दै लैजान पनि सुझाए ।
यस्तै प्रधानले बराह नगरपालिकामा २०० बिगाह क्षेत्रफलमा बन्न लागेको फिल्मसिटिको काम रोकिन नहुने, सो कार्य कुनै निजि कम्पनिको नभै प्रदेश सरकार र स्थानिय सरकारको मतहतमा रहने भएको हुँदा साथ र समर्थन गर्न बराह नगरपालिकाका प्रमुख रमेश कार्किलाई आग्रह गरेका छन् । ‘बराह चित्र मन्दिर’को उद्घाटनसंगै फिल्म प्रदर्शन पनि सुरु गरिएको छ। उदघाटन समारोहको आयोजना अनन्त आयामले गरेको थियो ।
उक्त उदघाटन समारोहमा प्रतिस श्रेष्ठको निर्देशनमा बनेको लघु चलचित्र ‘When Light Goes’ र ‘ऎना झ्यालको पुतली’ प्रदर्शन गरिएको थियो । हिजो आईतवारदेखि १० बजे ‘ऎना झ्यालको पुतली’, १२ बजे र ३ बजे ‘दिमाग खराब’ फिल्म प्रदर्शन भैरहेको छ। हलको उद्घाटन कार्यक्रममा अतिथिको रुपमा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य हिमाल दहाल, बिजय सुब्बा, सुरेन्द्रराज भुजेल, भीषण राई लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post