इटहरी/चलचित्र ‘बादलपारी’ मा समावेश लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’को रिमेक गरिएको छ । निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्र ‘पर्खी बसें तिमीलाई’ मा उक्त गीतलाई समावेश गरेका हुन् । उक्त गीत सार्वजनिक गर्दै उनले चलचित्र पुस २७ मा प्रदर्शन गरिने जानकारी दिए ।
यसको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङगीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् । पाटन र भक्तपुर दर्बार स्क्वाएरमा छायांकन गरिएको गीतको नृत्य निर्देशक निशा रसाइलीले गरेकी छिन् । निर्देशक श्रेष्ठले पुरानो सर्जकलाई सम्मान गर्दै गीतको भावमै रहेर नयाँ पुस्ताका लागि गीत र भिडियो तयार गरिएको बताए ।
यस चलचित्रबाट अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । उनीहरू दुईले अभिनय सिकेर चलचित्रमा डेब्यु गर्न लागेका हुन् । आफूले सुन्दै हुर्किएको गीतमा नृत्य गर्न पाउँदा निकै खुसी लागेको अभिनेत्री रक्षाले बताइन् । ‘मैले नयाँ कलाकारसँग पहिला पनि काम गरेको छु । अहिले पनि उहाँहरूको सक्षमता देखेर काम गराएको छु । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ’, निर्देशक श्रेष्ठले भने । ‘कालो चस्मा लाउ है मैया’को रिमेक भिडियो यस्तो छ ।
नेपालसँगै सिक्किमको रमणीय दृश्यमा छायांकन गरिएको रोमान्स फिल्म्स र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरंजन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।
Discussion about this post