इटहरी/बरिस्ठ लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । यही मङ्सिर ८ गते राष्ट्रिय नाचघर जमलमा ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ‘ हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । अन्नपुर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको कार्यक्रमको काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्ट्रक्सन प्रा.लि. सह आयोजक रहेका छन ।
५ दशक भन्दा बढी समयदेखि नेपाली लोकगीतमा निरन्तर लागिरहनु भएकी लोकगायिका थापा पहिलोपटक एकल सांगीतिक साँझ मार्फत गुञ्जिन लाग्नु भएको हो । कार्यक्रमा गायिका थापाले ‘म त खादिन कुवाँको पानी हो’, ‘ढुङ्गे बगर माया’,‘झम्के फूली नाकैमा बुलाकी’,‘उकालीमा पनि हजुर मोटर जादो रैछ’,‘बारीको डिलमा ओखरबोट’,‘माछी मार न हे दाई हो’ लगायतका २ दर्जन जति उनका गीतहरु प्रस्तुत गर्दैछिन ।
कार्यक्रममा प्रवेशका लागि एक हजार, पन्ध्र सय र दुई हजार रुपैयाँको टिकेट राखिएको छ । पत्रकार सम्मेलनमा बरिस्ठ लोकगायिका थापाले कार्यक्रमका लागि अन्नपुर्ण चेम्बर अर्केस्टा ,काठमान्डौ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्ट्रक्सन प्रालि संग सहकार्य गर्न पाउँदा आफु खुसी रहेको बताउनु भयो । गायिका थापाको छोरा तथा सङ्गीतकार सुरज थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिनुभयो ।
‘आमाको सपना थियो, यसलाई पुरा गर्न पाउँदाको खुशी शब्दमा व्यक्त गर्न सक्दिन । हामीले युगल गायनमा आमासँग गाउन सक्ने पुराना गायक नै प्रस्तुत गर्नेछौँ । बाँकी केहीमा मैले पनि साथ दिनेछु’, गायक थापाले भन्नुभयो । २०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन र संगीत यात्राको थालनी गर्नु भएकी गायिका थापाको हालसम्म एक हजार भन्दा बढी गीतहरु रेकर्ड भैसकेका छ्न ।
विभिन्न सामाजिक सेवाको सहयोगार्थ थुप्रै पटक सांगीतिक कार्यक्रमहरूमा आफ्नो गायन प्रस्तुत गरिसक्नु भएकी गायिका थापा प्रबल गोरखा दक्षिणबाहू मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौ सम्मान, पदक र पुरस्कारहरू प्राप्त गरिसक्नु भएको छ । ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ‘ कार्यक्रम सामाजिक सशक्तीकरण, सामाजिक जिम्मेवारी र सांस्कृतिक प्रवर्द्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले बताएका छन् ।
Discussion about this post