इटहरी/ नयाँ वर्ष २०८० सुरुवात संगै आज बैशाख १ गतेबाट ३ नेपाली फिल्म एकसाथ सिनेमा घरहरुमा प्रदर्शन सुरु भएको छ । यी ३ फिल्महरु जारी, बिहे पास र बुलाकीका लागी हलमा दर्शकको उत्साह देख्दा वर्ष २०८० सुखद छ । तर, आगामी फिल्मले कस्तो ब्यापार गर्ला भन्ने कुरा त पर्खाई नै हो । देशभरको कुरा गर्ने हो भने फिल्म जारीको आक्रमण व्यापार सुरु भएको छ भने बिहेपासले पनि पछ्याइरहेको छ । यी २ फिल्मको तुलनामा बुलाकी भने पछाडि छ । जारीको आजको प्रायः शो हरु देशभर नै अग्रिम बुकिङ भैसकेको छ ।
जारिको आज हलमा गएर टिकट काटेर हेर्छु भन्नेहरुको लागी अलि सकस नै पर्ने देखिन्छ । यता बिहे पासको अवस्था पनि त्यस्तै छ । बिहे पासको अग्रिम टिकट बुकिङ आक्रमक नभए पनि अहिले भने शोहरु हाउसफुल हुने अवस्थामा पुगेको छ । यता कोशी प्रदेशमा पनि प्रायः सिनेमाघरमा जारी र बिहेपासमै माहौल जमेको देखिन्छ । बिदेशी फिल्म कुनै पनि नभएका कारण नेपाली फिल्मले नयाँ वर्षको सुरुवातमै हालिमुहाली गर्न पाईरहेको छ । तर, जारी र बिहेपास दुबै फिल्ममा अभिनेता दयाहाङ राईको प्रमुख भुमिका रहेको हुनाले उत्साह त्यता देखियो भने बुलाकी भने पछि पर्यो भन्दा फरक नपर्ला ।
यद्यपि आउने दिनमा वर्ड अफ माउथका कारण बुलाकीले पनि राम्रो व्यापार नगर्ला भन्न सकिन्न । फिल्म जारी लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमाथि निर्माण गरिएको छ भने फिल्म बिहे पास सरकारी अधिकृत पत्नी र सरकारी जागिर पाउन प्रयत्नरत पति र पारिवारिक तनावको बारेमा निर्माण गरिएको छ ।
यस्तै फिल्म बुलाकीमा भने कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । फिल्म बिहेपासमा प्रवेश पौडेलको निर्देशन, दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको छ । यता सुरक्षा पन्त, नरेन खड्का र विराज बिष्टको मुख्य भूमिका रहेको फिल्म बुलाकीलाई लक्ष्मण सुनारको निर्देशन गरेका हुन् । उपेन्द्र सुब्बाको निर्देशीत फिल्म जारीमा दयाहाङ राई, मिरुना मगर लगायत कलाकारहरूको प्रमुख भुमिका रहेको छ ।
Discussion about this post