इटहरी/ अभिनेता अनमोल केसी पछिल्लो फिल्म ‘छड्के २’ बक्स अफिसमा नराम्ररी पछारिएपछी आफू भित्र भएका कमजोरीलाई सुधार्ने पक्षमा लागिरहेका छन् । उनले शनिबार एक स्ट्याटस सामाजिक संजाल फेसबुकमा लेख्दै ‘मेरो पछिल्लो फिल्मले मलाई ठूलो पाठ सिकाएको छ । कलाकारको धर्म र सजगता पनि के हो राम्रोसँग बुझाएको छ । सबैभन्दा ठूलो पाठ मैले गर्ने सिनेमा के हो र कस्तो हुनुपर्छ भन्ने हो ।’ भन्दै लेखेका छन् ।
पछिल्लो समय रोहित अधिकारीको फिल्म ‘फर्की फर्की’को तयारीमा रहेका उनले ‘अब फिल्म गर्दा जबसम्म स्क्रिप्टमा मेरो पूर्ण चित्त बुझाइ हुँदैन तब सम्म फिल्म गर्न हतार गर्ने छैन’ भनेर लेखेका छन् । केसीले आफ्नो अब आउने प्रोजेक्टहरु आफ्नो आधिकारिक पेजबाट घोषणा नभएसम्म अनाधिकारिक रुपमा सम्प्रेषन नगर्न आग्रह गर्दै यस्तो लेखेका छन् “होस्टलबाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेदेखि मैले मेकर तथा दर्शकहरुबाट अथाह माया पाइरहेको छु। मैले यो मायालाई आफ्नो अमुल्य सम्पति ठान्छु। त्यसैलै कुनै पनि फिल्म गर्नुअघि मैले मेरा दर्शकलाई रिझाउनुपर्छ भन्ने कुरालाई हृदयमा सँधै राख्ने गरेको छु। त्यसैले म मेरो काम कमजोर नहोस् भन्ने कुरामा सदैव सजग रहने गरेको छु । मैले यसो गरिरहँदा मैले मेकरको लगानी सुरक्षालाई पनि उत्तिकै ध्यान दिने गरेको छु । म माथि उहाँहरुले गर्ने लगानी केवल आर्थिक अंकगणित होइन्, एउटा व्यवसायिक विश्वास हो र यो विश्वास भंग हुनुहुँदैन । मेरो पछिल्लो फिल्मले मलाई ठूलो पाठ सिकाएको छ । कलाकारको धर्म र सजगता पनि के हो राम्रोसँग बुझाएको छ । सबैभन्दा ठूलो पाठ मैले गर्ने सिनेमा के हो र कस्तो हुनुपर्छ भन्ने हो । म कुनै पनि प्रोजेक्टमा आबद्ध हुँदा कसैको निहित व्यक्तिगत स्वार्थमा उपयोग नहुँ भन्नेमा निक्कै गम्भिर छु, त्यसैले मैले अब फिल्म गर्दा जबसम्म स्क्रिप्टमा मेरो पूर्ण चित्त बुझाइ हुँदैन तब सम्म फिल्म गर्न हतार गर्ने छैन चाहे यसका लागि विलम्ब नै किन नहोस् , अबको मेरो एकमात्र ध्यान भनेको प्रोजेक्ट कसरी राम्रो हुन्छ भन्ने हो, यसका लागि अब म माथि कुनै प्रकारको दबाब वा हतारको प्रभाव हुन्न र हुन दिनेछैन भन्नेमा म दृढ भएको छु । किनकी मलाई लाग्छ मैले यति गर्नसके भनेमात्र म एक सच्चा कलाकार ठहरिनेछु। यसले मलाई व्यक्तिगत रुपमा त राम्रो गर्छ नै म माथि भरोसा गरेर लगानी गर्ने निर्माताहरु माथि पनि भलो नै हुन्छ । यसले सिनेमा निर्माणको व्यवसायिक्ता र यो क्षेत्र कति घनिभूत छ भन्ने कुरालाई स्थापित गर्छ र यसमा हामी सबै गम्भिर हुन जरूरी छ।
नोट : मेरो अब आउने प्रोजेक्टहरु,
आधिकारिक पेजबाट घोषणा नभएसम्म! अनाधिकारिक रुपमा, सम्प्रेषन नगरिदिनु हुन बिनम्र अनुरोध गर्दछु।
धन्यवाद!!!”
Discussion about this post