इटहरी/ ओखलढुंगाको रुम्जाटारबाट फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सुरु भएको छ । रामबाबु गुरुङ्गको निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र आँचल शर्माको प्रमुख भूमिका रहने छ । शुक्रबारबाट छायांकन सुरु गरिएको फिल्मको पहिलो दिनको केहि तस्विर निर्देशक गुरुङ्गले सामाजिक संजालमा सार्वाजनिक गरेका छन् ।
सार्वजनिक तस्विरमा निर्देशक गुरुङसहित अभिनेता बुद्धि तामाङ, अभिनेत्री आँचल शर्मा लगायतलाई देख्न सकिन्छ । ‘कबड्डी’ सिरिजका फिल्मबाट सफलता पाउँदै आएका निर्देशक गुरुङको निर्देशनमा बनेको पछिल्लो फिल्म ‘जारी’ ब्लकबस्टर बनेको थियो। डिग्री माइला पनि उनले राम्रो हुने अपेक्षा राखेका छन् । उनका अनुसार फिल्मको छायांकन २ चरणमा हुनेछ । अहिले पहिलो चरणमा १५ दिनको सेड्युल रहेको छ भने दोश्रो चरणको छायांकन मंसिरमा गरिने छ ।
हाल रङ्गेली फिल्म छायांकनमा व्यस्त रहेका अभिनेता दयाहांग राई भने सोमबारदेखी डिग्री माइला छायांकनमा जोडिने बताइएको छ । डिग्रि माइला थिएटरमा मन्चन भएको चर्चित नाटक हो, जसलाई अभिनेता दयाहांगले नै निर्देशन गरेका थिए । फिल्ममा भने उनि प्रमुख कलाकारको रुपमा मात्रै रहने छन् । फिल्ममा दयाहांग र आँचलको अलवा बुद्धि तामाङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, प्रकाश घिमिरे लगायत कलाकारहरुको अभिनय रहने छ । यो फिल्मलाई २०८१ को वैशाख १ गते रिलिजको तयारि गरिएको छ ।
Discussion about this post