इटहरी/ नेपालको हित र प्रवर्द्धनमा विशिष्ट योगदान पुर्याउने टोनी हेगन र एडमन्ड हिलारी जस्ता विश्वविख्यात व्यक्तित्वहरूको गरिमामय सूचीमा अब नेपाली फिल्म क्षेत्रका दिग्गज निर्देशक तुलसी घिमिरेको नाम पनि थपिने भएको छ । नेपाली फिल्म, भाषा, कला र संस्कृतिको उत्थानमा तीन दशकभन्दा लामो समयदेखि पुर्याएको अनवरत योगदानको उच्च कदर गर्दै सरकारले घिमिरेलाई ‘मानार्थ नेपाली नागरिकता’ प्रदान गर्ने प्रक्रिया अघि बढाएको हो ।
घिमिरेलाई मानार्थ नागरिकता दिने विषय रातारात लिइएको नयाँ निर्णय भने होइन । चलचित्र विकास बोर्डको सिफारिसमा आजभन्दा झन्डै डेढ दशकअघि अर्थात् वि.सं. २०६८ असार २४ गते नै नेपाल सरकारको सचिवस्तरबाट यससम्बन्धी निर्णय भइसकेको थियो । तर, त्यसयता बनेका विभिन्न सरकारहरूले यसलाई प्राथमिकतामा नराख्दा यो प्रक्रिया मन्त्रालयमै थन्किएको थियो । देशमा नयाँ सरकार गठन भएसँगै यो रोकिएको फाइललाई फेरि अघि बढाइएको हो ।
@parikalanewsofficial
नेपाललाई नै आफ्नो मुख्य कर्मथलो बनाएर नेपाली फिल्म क्षेत्रको विकासमा आफूलाई समर्पित गरेका घिमिरेलाई सम्मान गर्न सूचना तथा सञ्चार मन्त्रालयले अग्रसरता लिएको छ । मन्त्रालयले घिमिरेलाई मानार्थ नागरिकता उपलब्ध गराउन आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई औपचारिक रूपमै पत्राचार गरिसकेको छ । नेपालको संविधानको भाग २ र नागरिकता ऐन, २०६३ को दफा ६ मा मानार्थ नागरिकतासम्बन्धी व्यवस्था गरिएको छ ।
यो नागरिकता नेपालको हितमा विशिष्ट योगदान पुर्याउने विदेशी नागरिक वा कुनै विशेष अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई राज्यको तर्फबाट विशेष सम्मानस्वरूप दिइने गरिन्छ । यसअघि स्विट्जरल्यान्डका भूगोलविद् टोनी हेगन र न्युजिल्याण्डका पर्वतारोही सर एड्मन्ड हिलारीले यो विशिष्ट सम्मान पाएका थिए । मानार्थ नागरिकता पाउने व्यक्तिले नेपाली नागरिक सरहको उच्च राष्ट्रिय सम्मान प्राप्त गर्छन् । तर, यसले सामान्य नागरिकले जस्तो मतदान गर्ने लगायतका राजनीतिक अधिकारहरू भने प्रदान गर्दैन । नेपाली फिल्मको ‘स्वर्णिम युग’का सर्जक मानिने घिमिरेलाई यो सम्मान दिन लागिएसँगै फिल्म वृत्तमा खुसीयाली छाएको छ ।














Discussion about this post